
अमेरिकाका राष्ट्रपति जो बाइडनको ओभल अफिसको पहिलो झलक सञ्चारमाध्यमहरूले बुधवार पाएका छन् । केही घन्टाको फरकमा ओभल अफिसमा व्यापक फेरबदल गरिएको छ ।
ओभल अफिसमा अमेरिकी राष्ट्रपतिहरू, उनका परिवार र कर्मचारीहरूले कुन कलाकृति राख्ने, कस्तो फर्निचर ल्याउने र कस्ता सामान दराजमा राख्ने भनी मसिनो गरी मन्थन गर्छन् ।
राष्ट्रपतिले बसेर काम गर्ने डेस्कलाई रिजोल्युट डेस्क भनिन्छ । त्यसमा ट्रम्पले जोसेफ डुप्लेसीको तस्वीर राखेकोमा बाइडनले बेन्जामिन फ्य्रांकलिनको तस्वीर राखेका छन् । ह्वाइट हाउसलाई विभिन्न संस्थाहरूले कलाकृति पैंचो दिने गरेका छन् र फ्य्रांकलिनको तस्वीर पनि स्मिथसोनियन इन्स्टिच्युसनको नेसनल ग्यालरी अफ आर्टले पैैंचो दिएको हो ।
द वाशिङटन पोस्ट पत्रिकाले ओभलको नयाँ आन्तरिक सजावट हेर्ने मौका पाएको थियो । त्यसमा छापिएको खबरअनुसार, फ्य्रांकलिनको तस्वीर र चन्द्रमाबाट ल्याइएको पत्थरको सेटले विज्ञानमा बाइडनको रुचिलाई प्रतिनिधित्व गरेको छ ।
उनले श्रमिक नेता सेजार चाभेजको तामाको सानो प्रतिमा पनि राखेका छन् ।
त्यसबाहेक उनले मार्टिन लुथर किङ जुनियर र इलियनोर रूजवेल्टको प्रतिमा, एलन हाउसरले बनाएको घोडा तथा चिरिकाहुआ अपाचेको मूर्ति पनि राखेका छन् ।
जर्ज वाशिङटन र अब्राहम लिंकनको तस्वीर र डेनियल वेब्स्टरको प्रतिमा पनि राखिएको छ । विन्स्टन चर्चिलको प्रतिमा चाहिँ हटाइएको छ ।
ट्रम्पले अमेरिकाका तीन सेनाको झण्डा राखेकोमा बाइडनले त्यसलाई हटाएका छन् ।
बाइडनको परिवारको तस्वीर राखिएको छ ।
