राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले प्रतिनिधि सभा विघटनविरूद्ध संयुक्त आन्दोलन आवश्यक रहेको बताएका छन् ।
जनताको संयुक्त शक्तिशाली आन्दोलनको बलबाटै विघटित संसद पुनःस्थापना गर्न सकिने केसीले दाबी गरे । संसद् विघटनको विपक्षमा रहेका सबै राजनीतिक दल, नागरिक समाज र जनता संयुक्त आन्दोलनमा उत्रनुपर्नेमा केसीको जोड छ ।
राष्ट्रिय जनमोर्चाले बिहीबार बुटवलमा आयोजना गरेको प्रतिनिधि सभाको विघटन र संयुक्त आन्दोलनको प्रश्न’ विषयक अन्तरक्रियामा कार्यपत्र प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन् ।
अध्यक्ष केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरी चालेको असंवैधानिक, प्रतिगामी कदम उल्ट्याउन नसकिए देशमा संकट आउन सक्ने अवस्था रहेको बताए ।
उनले सरकारले घोषणा गरेको आगामी वैशाख १७ र २७ गतेको मध्यावधि निर्वाचन हुन्छ नै भन्ने कुनै ग्यारेन्टी नभएको उल्लेख गर्दै निर्वाचन भइहाले पनि स्थिर सरकार बन्ने अवस्था नभएको दाबी गरे ।
नेपालमा अस्थिरता पैदा गरेर विदेशी शक्ति केन्द्रहरूले आफ्नो अनुकूलतामा खेल्न थालेको बताउँदै उनले प्रधानमन्त्री र राष्ट्रपतिको कदमले संविधान, गणतन्त्र र प्राप्त उपलब्धिहरू गुम्ने अवस्थामा पुगेको चिन्ता व्यक्त गरे ।
मुलुकमा प्राप्त भएको गणतन्त्रका विरुद्ध राजावादी, विदेशी हिन्दू अतिवादी तथा वामपन्थी संकीर्णवादी गरी तीन तर्फबाट आक्रमण भइरहेको उनको दाबी छ ।
नेकपा मालेका सचिवालय सदस्य गोपालमणि गौतमले संसद् विघटन गर्ने प्रधानमन्त्रीको प्रतिगामी कदम देश र जनताको हितमा नभएकाले संयुक्त आन्दोलन जरुरी रहेको बताए ।
क्रान्तिकारी माओवादीका पोलिटब्यूरो सदस्य प्रेम सुवेदीले संसद् विघटन गलत भएपनि संसद् पुनःस्थापनाले जनताका अधिकार सुनिश्चित हुन नसक्ने उल्लेख गर्दै मिल्ने सकिने एजेन्डामा एकसाथ अगाडि बढ्न सकिने बताए ।
नागरिक समाजका अगुवा पदम कार्कीले संसद् विघटन गर्ने प्रधानमन्त्रीको कदम असंवैधानिक मात्र नभएर प्रतिगामी भएकाले असंवैधानिक कदमलाई सुधार गर्न सकिने उल्लेख गर्दै प्रतिगामी कदम सुधार गर्न नसकिने बताए ।
प्राध्यापक डाक्टर माधवराज पन्थी र प्राध्यापक लीलाबहादुर केसीले प्रतिगमनकाविरुद्ध अग्रगामी निकासका लागि संयुक्त आन्दोलनको आवश्यकता भएकोमा जोड दिए ।