
काठमाडौं । माघ १० गतेदेखि १६ गतेसम्म सप्ताहव्यापी रुपमा सहिद दिवसका कार्यक्रम सञ्चालन हुने भएका छन् । महानगरको सभा कक्षमा महानगरका प्रमुख तथा सहिद सप्ताह मुल समारोह समितिका संयोजक बिद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकले सप्ताहव्यापी कार्यक्रम तय गरेको हो ।
जसअनुसार माघ १० गते विहान ०८ः०० बजे टेकु खरिवोटमा शुक्रराज शास्त्रीले अमरत्व प्राप्त गरेको स्थानमा श्रद्धाञ्जली सभाबाट कार्यक्रमको थालनी हुनेछ । त्यस्तै माघ १३ गते विहान ०८ः०० बजे सिफलस्थित धर्मभक्त माथेमाले अमरत्व प्राप्त गरेको स्थानमा र माघ १५ गते विहान ०८ः०० बजे गंगालाल श्रेष्ठ र दशरथ चन्दले अमरत्व प्राप्त गरेको स्थान शोभा भगवतीमा श्रद्धाञ्जली सभा हुनेछ ।
सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन अर्थात् माघ १६ गते शान्तिबाटिका भेला भएर नेपाल प्रहरी र सशस्त्र प्रहरीको व्याण्ड, मार्चपास र सहिदहरुको तस्विर राखिएको बग्गीसहितको प्रभात फेरी सहिद पार्क लैनचौरमा पुगेर श्रद्धाञ्जली सभामा परिणत हुनेछ । त्यस सभामा प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधिको सहभागिता रहनेछ । सभामा नेपाली सेनाले सहिदको सम्मानमा ‘सम्मान गारद’ अर्पण गर्नेछ । सेनाले त्यसै दिन मध्यान्न १२ बजे एक तोपको सलामी अर्पण गरिनेछ ।
बैठकमा सहिद सप्ताहका कार्यक्रमका बारेमा जानकारी दिँदै मुल समारोहका संयोजक एवं महानगरका मेयर शाक्यले शहिदहरुको सम्मानस्वरुप साताव्यापी रुपमा दिवस मनाउन लागिएको जानकारी दिए ।