
कोभिड–१९ संक्रमणका बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मीमाथि लापरबाही गर्दै आएको सरकारले बिहीबार अर्को त्यस्तै चरित्र प्रदर्शन गरेको छ
। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादव कोइरालाले पत्रकार सम्मेलनमा कोरोना संक्रमणको लक्षण देखिएका बिरामीको प्रारम्भिक उपचार र नमुना संकलनमा संलग्न हुने स्वास्थ्यकर्मीलाई व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) नदिने निर्णय भएको बताएका थिए ।
विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार सम्भावित बिरामीको प्रारम्भिक उपचारमा प्रत्यक्ष संलग्न हुने स्वास्थ्यकर्मीले अनिवार्य रूपमा पीपीई प्रयोग गर्नुपर्छ । मन्त्रालयका सचिवले भने बिहीबारदेखि लागू गरिएको मापदण्डअनुसार कोभिड–१९ का लक्षण देखिएका व्यक्तिहरूको स्वास्थ्य परीक्षणका दौरान पीपीई प्रयोग गर्नु नपर्ने घोषणा गरेका थिए ।
‘बिरामीलाई संक्रमण पुष्टि भएपछि उपचारमा संलग्न हुने चिकित्सकले मात्रै पीपीई प्रयोग गर्नेछन्,’ उनले भनेका थिए ।
स्वास्थ्य सचिवले पत्रकार सम्मेलनमा शंकास्पद बिरामीको जाँच गर्नका लागि मास्क, पन्जा र टोपी मात्र लगाए पुग्ने बताए पनि लिखित मापदण्डमा भने गाउनदेखि सर्जिकल मास्कसम्म लगाउनुपर्ने उल्लेख छ । मन्त्रालयले तोकेको मापदण्डले चिकित्सकहरू आफू सुरक्षित हुनेमा भने शंका व्यक्त गर्छन् ।
कोभिड–१९ का लक्षण देखिने सबै बिरामी कोरोनाबाट संक्रमित हुँदैनन् तर उनीहरूलाई संक्रमण भएको पुष्टि भएपछि मात्रै पीपीईसहितका स्वास्थ्यकर्मीले परीक्षण गर्ने मापदण्ड बनाउँदा त्यसअघि नै पीपीईबिना उनीहरूको सामान्य उपचार तथा रोग निदानमा संलग्न हुने स्वास्थ्यकर्मीहरू संक्रमणको जोखिममा पर्छन् ।
बिहीबारको पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले मन्त्रालयले तयार पारेको पीपीई मापदण्ड बिहीबारदेखि लागू भएको बताए ।
‘ज्वरो, रुघाखोकी नाप्दा मास्क, ग्लोब्स, चस्मा लगाएका स्वास्थ्यकर्मीहरू खटिनेछन्,’ उनले भने, ‘नमुना जाँचपछि कोरोना देखियो भने अलग्गै अस्पतालमा लगिनेछ । त्यसबेला पीपीई लगाएर राखिनेछ । मन्त्रालयले तयार पारेको मापदण्ड लागू भइसकेको छ ।’
उनको भनाइमा साधारण रुघाखोकीका बिरामीहरू जाँच्दासमेत कोरोनाको आशंकामा चिकित्सकहरूले पीपीई लगाएपछि अभाव भएको हो । बिरामीको नमुना संकलनका क्रममा समेत त्यसको प्रयोग भएपछि देशभर बाँडिएका पीपीई सकिएर अभाव भएको उनको दाबी छ ।
पत्रकार सम्मेलनमा स्वास्थ्य सचिव कोइरालाले सरकारले तोकेका विशेष अस्पतालहरूलाई १० लाख रुपैयाँका दरले रकम निकासा भएको बताए । २५ वटा त्यस्ता अस्पतालले तत्काल फिभर क्लिनिक सञ्चालन गर्नका लागि यो रकम खर्च गर्नेछन् । विश्व स्वास्थ्य संगठनले जारी गरेको मापदण्डमा व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) जोखिमका आधारमा प्रयोग हुनुपर्ने उल्लेख छ । त्यो मापदण्ड हेर्ने हो भने चिकित्सक मात्रै होइन, बिरामीसँग नजिक रहेर काम गर्ने स्वास्थ्यकर्मी, प्रयोगशालाकर्मीहरूले समेत अनिवार्य रूपमा पीपीई प्रयोग गर्नुपर्छ ।
उक्त मापदण्डका अनुसार पीपीईको सेटमा मेडिकल मास्क, गाउन, पन्जाहरू, आँखाको बचाउ गर्ने गगल्स र हेल्मेट आकारको सिल्डसमेत पर्छन् । संगठनले स्वास्थ्यकर्मीका साथै सरसफाइमा संलग्न कामदार, बिरामी भेट्ने भिजिटर अनि बिरामीलगायतलाई अलगअलग मापदण्डको पीपीई तोकेको छ । कान्तिपुर दैनिकमा खबर छ ।