०६ असार २०८३, शनिबार

बुटवलसँग जोडिए तिनाउ पारिका बस्ती– वारिपारिको विभेद हट्यो : अर्थमन्त्री पौडेल

बुटवलसँग जोडिए तिनाउ पारिका बस्ती– वारिपारिको विभेद हट्यो : अर्थमन्त्री पौडेल

तिनाउ नदीमा पुल नहुँदा बुटवलपारिका दर्जनौँ बस्तीका बासिन्दा समस्यामा पर्ने गरेका थिए । 

सर्पले टोकेका बिरामीदेखि सामान किनमेल तथा व्यापारका लागि आउनेहरूलाई समेत घन्टौं घुमेर पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने तिनाउ पुल हुँदै आउनुपर्ने अवस्था थियो ।

अब त्यो समस्या सधैँका लागि अन्त्य भएको छ । 

तिनाउ र दानव नदीमा बनेका दर्जनौँ पुलका कारण बुटवल वारि र पारिको सम्पर्क सहज बनेको हो ।

यसरी समस्या समाधानको श्रेय अर्थमन्त्री एवं नेकपा महासचिव विष्णु पौडेललाई जान्छ । 

बुटवलको देवीनगर र मगरघाटमा पक्कीपुल बनेपछि मोतीपुरवासीका लागि बुटवल आवत–जावत निकै सहज बनेको छ ।

बुटवलको योगीकुटीबाट मगरघाटको पुल हुँदै तिनाउ पारि रानीगञ्जको शिवनगर पुगिन्छ ।

यहाँ पुल नबन्दा शिवनगर अलग बस्तीजस्तो देखिन्थ्यो । सुकुम्वासी बस्ती रहेको त्यहाँ यसअघि सुनसान जस्तै थियो । 

मगरघाटको पुल उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले बुटवलसँग तिनाउ पारिका बस्तीको विभेद हटेको बताए ।

उनले जनताको विकासको चाहनालाई सार्थक बनाउँदै जाने प्रतिबद्धता समेत व्यक्त गरे ।

उनले भने, ‘विकासको महाअभियान शुरू भयो । यसको संरक्षण र सदुपयोगको दायित्व स्थानीयलाई छ । विकासको यो अभियानलाई निरन्तर अगाडि बढाउँछौँ ।’ 

तिनाउ नदी आसपासको क्षेत्रलाई बस्नलायक बस्तीको रूपमा विकास गर्ने उनले बताए । 

लामो समयसम्म देवीनगरमा तिनाउमाथि झोलुंगे पुल थियो । झोलुंगे पुलबाट पैदलयात्रीलाई सहज भएपनि सवारीबाट ओहोरदोहोर गर्न भने मोतीपुरवासीलाई बेलबास, जीतगढी भएर घुमेर बुटवल आउनुपर्दथ्यो ।  

देवीनगर र बुद्धनगर जोड्ने पुल २०७२ असार ३० गते निर्माण शुरू भएर २०७६ माघ ५ गते सम्पन्न भएको हो ।

१ सय १० मिटर लम्बाइ र ११ मिटर चौडाइको यो पुलको लागत १० करोड ४५ लाख रहेको छ ।

त्यस्तै मगरघाटको पुल २०७३ सालमा शुरू गरेर २०७६ सालमा निर्माण सम्पन्न भएको हो । 

यो पुलले बुटवल वडा नम्बर ११ र १६ जोड्ने सडक डिभिजन कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनीले जानकारी दिए । 

योगीकुटी र शिवनगर जोड्ने १ सय ८० मिटर लम्बाइ र ११ मिटर चौडाइको यो पुलको लागत २१ करोड ४९ लाख रहेको छ । 

नयाँ गाउँमा दानव नदीमा बनेको पुल २०७६ भदौ ३० गते निर्माण सम्पन्न भएको हो ।

९८ दशमलव २५ मिटर लम्बाइ र ७ दशमलब २ मिटर चौडाइको यो पुल ६ करोड २३ लाख रुपैयाँमा तयार भएको डिभिजन सडक कार्यालय बुटवलले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्