
सरकारले गृहसहित केही मन्त्रालयमा सचिव सरुवाको गृहकार्य थालेको छ ।
स्रोतका अनुसार गृहसचिव महेश्वर न्यौपानेलाई निर्वाचन आयोग पठाउने तयारी छ ।
गृहसचिव न्यौपानेको सरुवा हुने भएपछि गृहमन्त्रालयमा सरुवा हुन सचिवहरूको दौड शुरू भएको छ ।
मुख्यसचिव पछि गृहसचिवलाई निकै महत्त्वपूर्ण मानिन्छ ।
स्रोतका अनुसार गृहसचिवका लागि एकनारायण अर्याल, सूर्य गौतम र यादव कोइराला दौडमा रहेका छन् ।
अर्याल संघीय मामिला तथा सामान्य प्रशासन, कोइराला संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र गौतम खरिद अनुगमन कार्यालयका सचिव हुन् ।
प्रतिनिधि सभा विघटनपछि देशव्यापी आन्दोलन भइरहेको र चुनावको मिति समेत घोषणा भएको अवस्थामा गृहसचिवको भूमिका निकै महत्त्वपूर्ण हुन्छ ।
स्रोतको दाबीलाई मान्ने हो भने लामो समय गृह प्रशासनमा बिताएका एकनारायण अर्याल गृहसचिव बन्ने सम्भावना प्रबल छ ।
यसअघि काठमाडौं महानरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रहेका अर्याललाई सरकारले एक वर्षअगाडि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरेको थियो ।
निजामती सेवामा निर्भीक, इमान्दार र निर्णय क्षमताको सबालमा अग्रपंक्तिमा अर्यालको नाम आउँछ ।
अर्यालले काठमाडौं महानगरपालिकामा रहँदा अनावश्यक भत्ता, सुविधा र खर्च नियन्त्रण एवं कटौती गरेर राज्य कोषको रकम बचाएका थिए ।
अनलाइनबाट राजस्व संकलन, घरको नक्साको डिजिटालाइजेसन, विभागीय प्रमुखहरूसँग कार्यसम्पादन करारजस्ता प्रमुख काम उनले महागरपालिकामा रहँदा गरे । साथै, काठमाडौं महानगरपालिकाको आफ्नै भवन निर्माण प्रक्रिया पनि अर्यालले अन्तिम चरणमा पुर्याएका थिए ।
सचिव हुनुअघि अर्याल भारतको कोलकत्तामा नेपाली महावाणिज्यदूत थिए ।
महावाणिज्यदूत छँदा उनले शुरू गरेको इलेक्ट्रिक कार्गो ट्र्याकिङ सिस्टमको चौतर्फी प्रशंसा भएको थियो ।
कोभिड महामारीमा यो सिस्टम निकै प्रभावकारी रहेको अधिकारीहरू बताउँछन् ।
अर्याल गृह मन्त्रालय मातहत रहेर लामो समय सेवा गरेका व्यक्ति हुन् । उनले आफ्नो करियरको धेरै समय गृह प्रशासनमा बिताए ।
जहाँ–जहाँ सीडीओ भएर गए त्यहाँ अर्यालले केही न केही सुधार र सकरात्मक परिवर्तनका काम गरेका थिए ।
गृह प्रशासन बुझेको अनुभवी थोरै कर्मचारीमा अर्याल पर्छन् ।
२०७२ सालको भूकम्पका बेला उनी काठमाडौंको सीडीओ थिए ।
भूकम्पका बेला कालोबजारी गर्ने उच्च घरानाका व्यापारीको गोदाममा छापा मारेर लुकाएर राखेको खाद्य सामग्री जफत गर्नुका साथै व्यापारीमाथि मुद्दा चलाए ।
व्यापक दबाबका बावजुद कालोबजारीमा संलग्न उच्च घरानाका व्यापारीमाथि कारवाही अघि बढाएपछि अर्यालको प्रशंसा चुलिएको थियो ।
अर्याल अनियमितता नगर्ने, घूस र ढिलासुस्तीमा तल्लीन कर्मचारीमाथि शून्य सहनशीलताको नीति अवलम्बन गर्ने, फाइल अड्काएर दुःख नदिने, निर्णय क्षमता भएका निर्भीक एवं इमान्दार प्रशासकका रूपमा परिचित छन् ।