
प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल नेतृत्वको नेकपाकै अर्को पक्षको १० सिट पनि नआउने दाबी गरेका छन् ।
ओलीले आफूनिकट आदिवासी महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै आफ्नो बहुमत आउने दाबीसमेत गरे ।
'उहाँहरू (प्रचण्ड-नेपाल) भिरको बाटो हिंड्नु भएको छ,' ओलीले भने, 'चुनावसम्म पुग्दा प्रचण्ड-नेपाल पक्ष बरफ जसरी पग्लिएर सकिन्छ । चुनावमा १० सिट पनि आउँदैन ।'
ओलीले आफू नेतृत्वको समूहलाई आधिकारिक नेकपा भएकोसमेत दाबी गरेका छन् ।
मङ्सिर ५ गते संसद विघटन गरिदिएपछि ओलीले नेकपाको अर्को पक्षमाथि निरन्तर प्रहार गर्दै आइरहेका छन् ।
उनले आफू नेतृत्वको समूहले आगामी निर्वाचनमा ५० लाख पपुलर भोट ल्याउने, प्रत्यक्षमा १ सय २० भन्दा बढी सिट ल्याउने दाबी गरिरहेका छन् ।
यता संसद विघटन असंवैधानिक भएको भन्दै प्रचण्ड-नेपाल पक्ष सडक आन्दोलनमा छ ।