माघ महिना बिहानीको चिसोको पर्वाह नगरी भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीधाममा बालकदेखि वृद्धसम्मले चिसो पानीमा डुबुल्की मार्दै माधव नारायण मेलाको व्रत शुभारम्भ गरेका छन् ।
नेपाल संवत्को आठौं शताब्दीदेखि १ महिने मेला शुरू भएको बताइएको छ ।
हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्ने माधवनारायण मेला बिहीवार बिहान हनुमानघाटस्थित त्रिवेणीधाममा स्नान गरी सूर्यलाई अघ्र्य दिएर माधवनारायणको पूजा गरेपछि व्रत शुरू भएको माधवनारायण व्रत व्यवस्थापन समितिका सदस्य गोपाल शर्माले जानकारी दिए ।
साँखुको शालिनदीमा भन्दा पहिलादेखि यस मेला एवं व्रत शुरू भएको शिलालेख एवं ग्रन्थमा पाइएको उनको भनाइ छ । माधवनारायणको व्रत बस्ने व्यक्तिले व्रत शुरू हुनु अघिल्लो दिनदेखि निराहार बस्नुपर्ने, बिहानै त्रिवेणीमा स्नान गरी चोखो जल तथा पूजा सामग्रीले पूजा गर्नुपर्ने, शंख जल ग्रहण गरी मन्त्रोच्चारण गर्नुपर्ने, शंख जल ग्रहण गरेपछि कसैलाई छुन नहुने तथा जुत्ता लगाउन नहुने परम्परा रहेको पुजारी समेत रहेका उनले जानकारी दिए ।
यस वर्ष भने कोरोना भाइरस संक्रमणका कारण हनुमानघाटस्थित त्रिवेणीमा हुने माधवनारायणको व्रत प्रभावित बनेको छ । कोरोना भाइरस संक्रमण हुन नदिन यस वर्ष हनुमानघाटमा सर्वसाधारणलाई यहीँ बस्ने गरी माधवनारायणको व्रत बस्न नदिने निर्णय भएपछि मेला औपचारिकतामा मात्रै सीमित गरिने शर्माले जानकारी दिए ।
यस वर्ष हनुमानघाटमा वर्तालुले माधवनारायणको १ महिने व्रत नबस्ने तर व्रतको परम्परा नटुटाउन भक्तपुर माधवनारायण व्रतका मूल पुजारी सरोजन राजोपाध्याय एक्लै व्रत बस्ने उनले जानकारी दिए । सर्वसाधारणलाई व्रत बस्न नदिइए पनि त्रिवेणीमा दैनिक नित्य पूजा तथा माधवनारायणको कथा वाचन र हनुमानघाट त्रिवेणी कुण्डमा दैनिक स्नान गर्ने कार्य भने नियमित हुनेछ ।
रासस