३० जेठ २०८३, शनिबार

अदालतप्रति प्रचण्डको टिप्पणी– संसद् पुनःस्थापना गर्नेछ, तर जनताको अदालतको फैसला अन्तिम

अदालतप्रति प्रचण्डको टिप्पणी– संसद् पुनःस्थापना गर्नेछ, तर जनताको अदालतको फैसला अन्तिम

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गर्नेमा आफूलाई आशंका नभएको बताएका छन् ।

तर सबैभन्दा ठूलो फैसला जनताको हुने उनले टिप्पणी गरे ।

‘अदालतमा अहिले मुद्दा छ, मलाई विश्वास छ, अदालतले संसद् पुनःस्थापना गर्नेछ । म त्यो विश्वास व्यक्त गर्न चाहन्छु । म अहिले केही आशंका गर्न चाहन्न,’ मंगलवार बुटवलमा आयोजित विरोध सभामा प्रचण्डले भने, ‘तर सबैभन्दा ठूलो अदालत जनताको अदालत हो, तपाईंहरूको अदालत हो, तपाईंहरूको फैसला हो ।’ 

माघ ९ गते प्रचण्डले काठमाडौंको सभामार्फत अदालतलाई धम्क्याउन खोजेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आपत्ति जनाएका थिए । 

‘काठमाडौंको सडकमा उर्लेको जनसागर हाम्रो अदालत र निर्वाचन आयोगले राम्रोसँग देख्छ । ऐतिहासिक फैसलामा जनताको मनोभावना के छ भन्ने कुरा एउटा फ्याक्टर हुने गरेको छ,’ प्रचण्डले माघ ९ गते भृकुटीमण्डपको सभामा भनेका थिए ।

माघ १२ गते दाङमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रचण्डले सर्वोच्चलाई धम्की दिने भाषा बोलेको आरोप लगाएका थिए । 

‘एकजना नेताले अस्ति चार दिनअगाडि बढो धुमधामसँग भने । कसैले पनि यहाँ अशान्ति चाहेको छैन, कसैले पनि अराजकता चाहेको छैन । अदालतले हाम्रै पक्षमा फैसला गर्छ भन्ने हामीलाई विश्वास छ । तर गरेन भने‍‍‍‍..., भन्या के ? कसैले अशान्ति चाहेको छैन । कसैले अराजकता खोजेको छैन रे, अदालतले हाम्रो पक्षमा फैसला गर्नुपर्छ रे, गरेन भने..., नत्र ? के खोजेको रहेछ उहाँहरूले ?’ ओलीले प्रश्न गरेका थिए । 

'निरंकुशता चुट्कीको भरमा ढल्छ'

बिहीवार बुटवलको सभामा प्रचण्डले केपी ओलीको निरंकुशता चुट्कीको भरमा ढल्ने जिकिर गरे ।

‘म आफैंले प्रधानमन्त्री र पार्टी अध्यक्ष प्रस्तावित गरेका केपी ओलीले श्री ३ महाराज बन्ने सपना देखेका छन्, राजतन्त्रलाई लात्ती हान्ने नेपालीले ओलीको निरंकुशता स्वीकार्दैनन् । ओलीको निरंकुशता चुट्कीको भरमा ध्वस्त हुनेछ,’ प्रचण्डले भने । 

हामी आधिकारिक– माधव नेपाल

सभामा प्रचण्ड–नेपाल समूहका अर्का अध्यक्ष माधवकुमार नेपालले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आफूले नेतृत्व गरेको नेकपा नै नेकपाको मूलधार भएको दाबी गरे । 

‘निर्वाचन आयोगले ४४१ केन्द्रीय सदस्यको बहुमत जहाँ छ, त्यही आधिकारिक भनेर निर्वाचन आयोगले भनिसकेपछि त्यही पार्टी नै मूल पार्टी हो । प्रचण्ड र मैले नेतृत्व गरेको पार्टी आधिकारिक हो,’ नेपालले भने । 

नेता नेपालले आफूहरूको पक्षमा देशभर लहर लागेको दाबी गर्दै सूर्य चुनाव चिह्न पनि आफूहरूको पक्षमा आउने दाबी गरे ।

salt training

कमेन्ट गर्नुहोस्