३० जेठ २०८३, शनिबार

अनुसन्धान विभागका थापाको हत्या प्रकरण : काठको चिर्पटले प्रहार गर्दा मृत्यु

अनुसन्धान विभागका थापाको हत्या प्रकरण : काठको चिर्पटले प्रहार गर्दा मृत्यु

राष्ट्रिय अनुसन्धान विभाग बाँकेमा कार्यरत सहायक सूचक प्रविण थापाको हत्यामा संलग्न मुख्य अभियुक्तलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको छ । 

हत्या गरेर फरार रहेका मध्येका मुख्य अभियुक्त नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्टेक्राका १८ वर्षीय विवेक परियारलाई भक्तपुरको चाँगुनारायण– ताथलीमा लुकीछिपी बसेको अवस्थामा सीआईबीको टोलीले पक्राउ गरेको प्रवक्ता गंगा पन्तले जानकारी दिइन् । 

‘प्रविणको हत्या गरेर काठमाडौं आएर लुकेका मध्येका विवेक मुख्य अभियुक्त हुन्,’ एसएसपी पन्तले लोकान्तरसँग भनिन्, ‘१ जना यसअघि नै पक्राउ परेका छन् । अन्य ४ जना अझै फरार छन् ।’

नेपालगञ्ज उपमहानगरपालिका–१८ बस्ने २७ वर्षीय प्रविणको माघ २ गते स्थानीय खेतबारीमा शव फेला परेको थियो ।

सीआईबी प्रवक्ता एसपी पन्तका अनुसार पक्राउ परेका अभियुक्त परिवारले हत्या गरेको स्वीकारेका छन् । 

‘मृतक थापा र अर्का १ जना उनका साथी चुरोट र गाँजा खाएर बसेका थिए । त्यही समयमा परिवारसहित अन्य ४ जना साथीहरू त्यहाँ गए । मृतक थापाले किन आएको भन्दै प्रश्न गरे । विवाद हुँदा थापाले पहिले हात छोडेपछि काठको चिर्पटले प्रहार गर्दा मृत्यु भयो,’ विवेकले प्रहरीमा दिएको बयान उदृत गर्दै एसपी पन्तले लोकान्तरसँग भनिन् ।

मृतक र हत्या अभियुक्त बीचमा चिनजान समेत नभएको अनुसन्धानमा खुलेको र अन्य फरार अभियुक्तको पनि खोजी भइरहेको सीआईबीले जनाएको छ । 

पक्राउ परेका परियारलाई कानूनी कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय बाँके पठाउने तयारी भएको एसपी पन्तले बताइन् ।

salt training

कमेन्ट गर्नुहोस्