
निर्वाचन आयोगले चुनाव तयारीका लागि ८४ दिन पर्याप्त हुने भन्दै तोकिएको मिति अर्थात् वैशाख १७ र २७ गते प्रतिनिधि सभा चुनाव गर्न तयार रहेको बताएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेकपा नेताहरूसँगको छलफलमा आयोग पदाधिकारीहरूले ८४ दिनमा चुनाव गर्न सकिने बताएको स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए ।
‘हामीले तदारुकताका साथ चुनावको तयारीमा लाग्न भन्यौं, आयोगले ८४ दिन भए पुग्छ, आजको मितिले ९१ दिन बाँकी छ भनेर भन्यो,’ आयोग सँगको छलफलपछि संविधान सभाका पूर्वअध्यक्ष समेत रहेका नेता नेम्वाङले भने ।
आयोगले वैशाखका लागि तोकिएको चुनावका लागि दल दर्ताको प्रक्रिया अगाडि बढाउने तयारी गरेको जानकारी गराएको उनले बताए ।
‘अदालतले निर्वाचनलाई स्थगन आदेश जारी गरेको छैन । निर्वाचन आयोग समेतको बुझाइ स्थगन आदेश नगरेपछि निर्वाचनसम्बन्धी तयारी तदारुकताका साथ अगाडि बढाउनुपर्छ भन्ने छ, यसमा अलिकति पनि ढिलाइ गर्नुहुँदैन’ नेम्वाङले भने ।