
नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपाल धनगढी आइपुगेका छन् । शनिवार धनगढीमा हुने भेलालाई सम्बोधन गर्न नेपाल शुक्रवार साँझ धनगढी पुगेका हुन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शनिवार आउने भएका छन् ।
संसद विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतमा उपस्थित नभएका सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट पूर्व प्रधानमन्त्री नेपालको स्वागतमा भने उपस्थित भएका छन् ।
नेकपामा आफ्ना पक्षका अध्यक्ष नेपालको स्वागत गर्न भट्ट धनगढी विमानस्थल पुगेका हुन् ।
उनीसँगै आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाह पनि स्वागतमा सहभागी थिए । यसअघि धनगढी पुगेका प्रधानमन्त्री ओलीको स्वागतमा मुख्यमन्त्री भट्ट अनुपस्थित भएपछि आलोचना भएको थियो ।
तर भट्टले भने प्रधानमन्त्रीको भ्रमणबारे औपचारिक जानकारी नआएको र गुट भेलामा आएका प्रधानमन्त्रीलाई स्वागत गर्न नसकिएको प्रतिक्रिया दिएका थिए ।