०९ असार २०८३, मंगलबार

संविधानको धारा १०० निष्क्रिय पार्न मिल्दैन

माघ १७, २०७७
संविधानको धारा १०० निष्क्रिय पार्न मिल्दैन

संविधानको धारा ७६ को व्याख्याका क्रममा धारा १०० लाई निष्क्रिय बनाउन नमिल्ने तर्क कानुन व्यवसायीहरूले गरेका छन् । दुई धारा सरकार र संसद्को स्थायित्वसँग अन्तर्निहित रहेकाले एकको व्यख्या गर्दा अर्काे निष्क्रिय हुन नहुने तर्क उनीहरूको छ ।

राष्ट्रिय सभा सदस्यसमेत रहनुभएका वरिष्ठ अधिवक्ता रामनारायण बिडारी, वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ र विघटित प्रतिनिधि सभाका सदस्य कृष्णभक्त पोखरेलले सो तर्क गरेका हुन्। उनीहरूले अदालतले संसदीय मूल्य मान्यताभन्दा संविधानको भावनालाई नै प्राथमिकता राखेर व्याख्या हुनुपर्ने राय दिएका छन् ।

धारा ७६ मन्त्रिपरिषद् गठनसम्बन्धी व्यवस्था छ । जहाँ गठनसँगै प्रधानमन्त्री नै बन्न नसके वा विश्वासको मत पाउन नसके प्रतिनिधि सभा विघटनको विषय पनि समेटिएको छ । यस्तै धारा १०० विश्वासको मत र अविश्वासको प्रस्तावको व्यवस्था छ । जहाँ प्रधानमन्त्रीविरुद्ध दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नमिल्ने र एक पटक प्रस्ताव असफल भएमा थप एक वर्षसम्म प्रस्ताव ल्याउन नमिल्ने व्यवस्था छ ।

बहसको प्रारम्भ गरेका निवेदक पोखरेलले शुक्रबार संविधानसँग जोडिएको सवाल राजनीतिक हुन नसक्ने जिकिर गरे । उनले प्रतिनिधि सभा विघटनअघि प्रधानमन्त्रीले संसद् तथा संसदीय दलमा कतै पनि विकल्प नखोजेको आरोप छ । प्रधानमन्त्रीले लिखित जवाफमा उल्लेख गर्नुभएजस्तो अन्तर्निहित अधिकार नभएको पोखरेलको जिकिर छ ।

वरिष्ठ अधिवक्ता एवं राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले धेरै परामर्शपछि मात्र संविधानमा प्रधानमन्त्रीको अधिकार कटौती गरिएको बताए । बिडारीले भने, ‘‘मस्यौदा समितिमा म पनि थिएँ । अध्यक्ष सुवास नेम्वाङले हामीलाई सधैँ भन्नुहुन्थ्यो कि प्रधानमन्त्रीलाई विघटनको अधिकार राख्नुहुन्न है भनेर । त्यो समितिमा अहिलेका महान्यायाधिवक्ता अग्नि खरेल पनि हुनुहुन्थ्यो । हामीले जानेबुझेसम्म प्रधानमन्त्रीको अधिकार कटौती र विघटन नगर्ने पक्षमा लेखेको हौँ । यस्तो सर्वसम्मत विषय पनि दिउँसै रात पार्नेगरी काम भयो । ’’

मस्यौदा समिति सदस्यसमेत रहेका बिडारीले संसद्ले प्रधानमन्त्रीलाई दुःख दियो भनेर धारा १०० मा नियन्त्रित व्यवस्था राखिएको पनि बताए । धारा ७६ र १०० ले एकअर्कालाई स्थायित्वको परिकल्पना गर्ने भएकाले विघटनको मुद्दामा व्याख्या गर्दा अदालतले दुवै धारालाई ध्यानमा राख्नुपर्ने बिडारीले बताए ।

उनले भने, ‘‘संसद्ले प्रधानमन्त्रीलाई दुःख दियो भनेर धारा १०० ले नियन्त्रण गरेका हौँ । अर्कोतर्फ धारा ७६ मा प्रधानमन्त्रीलाई नियन्त्रण गरेको छ । दुवै धारालाई एकै पटक व्याख्या गरिनुपर्छ । एकको व्याख्याले अर्कोलाई निष्क्रिय बनाउन मिल्दैन । ’’

आफूलाई हटाउन लाग्यो भनेर प्रधानमन्त्रीले धारा १०० लाई निष्क्रिय बनाउन नमिल्ने बिडारीको तर्क छ । विघटनमा संविधान अस्वीकार गर्नेले राजनीतिक प्रश्न भनेर व्याख्या गरे पनि प्रधानमन्त्रीले राजनीतिक प्रश्न भनेर उन्मुक्ति नपाउने बिडारीको तर्क छ । कस्तो सरकार बनाउने भन्ने विषय अदालतको नभई सदनको भएकाले विकल्पबारे पनि सदनमै छलफल हुनुपर्ने उनको जिकिर छ । उनले राजनीतिक दलसँग खेल्नुपर्ने प्रधानमन्त्रीले संसद् र जनतासँग खेलेको टिप्पणी गरे ।

वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले वर्तमान संविधानको विशेषतामध्ये एक प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्न नसक्ने पनि भएकाले अदालतले व्याख्या गर्दा मर्म मार्न नहुने तर्क गरे । उनले प्रधानमन्त्री नै चयन हुन नसक्ने वा विश्वासको मत नपाएको अवस्थामा मात्र धारा ७६(५) को प्रधानमन्त्रीले उक्त अधिकार प्रयोग गर्न सक्ने जिकिर गरे ।

उनले प्रधानमन्त्रीको लिखित जवाफमा वैकल्पिक सरकारको गठन सम्भव नभएको उल्लेख गरे पनि परीक्षण कहाँ भएको भन्ने प्रश्न गरे । जनताको वैध अपेक्षा पाँच वर्षको जनमत भएकाले बीचमा जनतामा जाने प्रधानमन्त्रीको तर्क जनभावनाविपरीत भएको समेत उनको तर्क छ ।

उनले प्रधानमन्त्रीले संसद् विघटन गर्न नपाउने र सदनले दुई वर्षसम्म प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव नल्याउने विषय एकअर्कासँग परिपूरक भएको बताए । व्याख्याका क्रममा अदालतले दुवै धारालाई एकसाथ हेर्नुपर्ने उनको राय छ ।

समयमा विवाद
बहसको समयको विषयलाई लिएर वरिष्ठ अधिवक्ता श्रेष्ठ र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराबीच केही समय वादविवाद भएको छ । श्रेष्ठले निवेदन देवप्रसाद गुरुङका तर्फबाट आफू अन्तिम बहस गर्ने जनाउँदै पाँच घण्टाको समय माग गरेका थिए । तर प्रधानन्यायाधीश जबराले यसअघि सबै कानुन व्यवसायीलाई निश्चित समय तोकिएकाले एक घण्टाभन्दा बढी समय दिन नसकिने बताए ।

श्रेष्ठले आफू नयाँ कुरा मात्र राख्ने भएकाले समय आवश्यक भएको बताए । तर जबराले उहाँलाई बढी समय दिन नसकिने धारणा दोहो¥याए । इजलासले बनाएको नियम नमान्ने भए सबैलाई समय नतोक्ने पनि जबराको जवाफ थियो ।

केही क्षणको विवादपछि श्रेष्ठले बहस प्रारम्भ गरे । करिब एक घण्टापछि पुनः प्रधानन्यायाधीशले समय स्मरण गराए । सो पछि पनि केही समय विवाद भयो । श्रेष्ठ दुई घण्टाभन्दा बढी समय नै बहस गरे । गोरखापत्र दैनिकमा नारायण काफ्लेले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्