
पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी ओली नेपाललाई हिन्दु राष्ट्र बनाउने कोशिषमा लागेको आरोप लगाएका छन् ।
ओलीको कदमले दक्षिणपन्थीहरू फुरफुर गरिरहेको उनको आरोप छ ।
आइतवार माइतीघर मण्डलामा आयोजित धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै पाण्डेले पञ्चायतको बेलामा कम्युनिस्टहरूमाथि आक्रमणमा उत्रेकाहरू अहिले ओलीको प्रसंशामा लागिरहेको बताएका हुन् ।
‘ओलीको कदमले दक्षिणपन्थी फुरफुर गर्न थालेका छन्, २३ गतेको सभामा राजावादीहरू ओलीको सभामा आउने भनिरहेका छन् । पञ्चायतको बेलामा कम्युनिस्टलाई आक्रमण गर्ने भद्रकुमारी घलेहरू ओलीको समर्थनमा लाग्नुको अर्थ के हो ?,’ पाण्डेले भने ।
पाण्डेले प्रधानमन्त्री ओली संविधान मार्ने कुचेष्टामा लागेको आरोप लगाए । ‘प्रधानमन्त्री ओली नेपाललाई हिन्दु राष्ट्र बनाउने कोषिशमा लागेको पनि सुनिएको छ,’ पाण्डेले भने ।
धर्नामा नेकपा अध्यक्ष प्रचण्ड, नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतका नेताहरू धर्नामा बसेका थिए ।