२१ जेठ २०८३, बिहीबार

आयोग दल दर्ता तयारीमा

माघ १९, २०७७
आयोग दल दर्ता तयारीमा

प्रतिनिधि सभा विघटनपछि त्यसको पक्ष वा विरोधमा राजनीतिक दलहरू वडा स्तरसम्म पुगेको अवस्थामा निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि दल दर्ताको तयारीलाई अगाडि बढाएको छ ।

आगामी वैशाख १७ र २७ गते दुई चरणमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आयोगले संविधान र कानुनमा व्यवस्था भएअनुसार दल दर्ताको आह्वान गर्न लागेको हो ।

आयोगका एकजना अधिकारीका अनुसार दल दर्ताका लागि सूचना छिट्टै सार्वजनिक हुनेछ । घटीमा एक सातादेखि बढीमा १५ दिनको अवधि दल दर्ताका लागि दलहरूलाई मिल्नेछ । कति दिन समय दिने भन्ने अन्तिम निर्णय चाहिँ आयोग बैठकले नै तय गर्नेछ । आवश्यक कागजातसहित आयोगमा आइपुग्ने सुविधाजनक समय दिइने आयोगका अधिकारीहरूको भनाइ छ । यसैगरी आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आयोग निर्वाचन प्रयोजनका लागि दल दर्ताको सूचना प्रकाशन गर्ने तयारीमा जुटेको बताउनुभयो । उहाँले मिति भने आयोगले तय गर्ने जानकारी दिए ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद कायमै छ, कसरी दल दर्ता हुन्छ त ? भन्ने आम चासो जनमानसमा कायमै छ । तर आयोगका एक अधिकारी भन्छन्,‘‘आयोगलाई कुनै समस्या छैन, त्यससम्बन्धी जे समस्या थियो, त्यससम्बन्धी आयोगले निर्णय दिइसकेको अवस्था छ, आयोगको त्यो निर्णयलाई कुन रूपमा र कसरी लिने भन्ने उहाँहरू (नेकपाका दुवै पक्ष) को कुरा हो । दल दर्ता गर्न आउँदा आफ्नो विधानबमोजिम राजनीतिक दलसम्बन्धी ऐन र नियमावलीसम्बन्धी व्यवस्थालाई पालना गर्नुपर्छ ।’’

आयोगले दल दर्ताका लागि सूचना प्रकाशन गर्दा राखेका प्रावधानअनुसार आउनुपर्ने भनाइ पनि आयोगको छ । ‘‘नेकपाका नेताहरूले मात्र होइन सबै राजनीतिक दलका नेताहरूले त्यसलाई पालना गर्नुपर्छ । त्यसरी आएको दल दर्ता हुन्छ, विधान र विधिसम्मत आउँदैनन् भने दर्ताका लागि योग्य हुँदैनन् र दल दर्ता हुँदैन’’, ती अधिकारीको भनाइ छ ।

नेकपाको हकमा सो पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त रूपमा हस्ताक्षर गरेका कागजपत्र मात्रै आयोगलाई मान्य हुनेछ । आयोगका अनुसार उहाँहरू दुवैको संयुक्त रूपमा हस्ताक्षर गरेर नआएकाले नै यसअघि आयोगमा दुवै पक्षबाट पेस भएका कागजातलाई आयोगले मान्यता नदिएको हो । आयोगले नेकपालाई एउटै देख्छ तर व्यवहारमा नेकपा दुवै पक्षको विवाद झाँगिँदै गएको छ । दल दर्ताको आह्वान भएमा कसरी नेकपा आयोगमा दर्ता हुन्छ भन्ने अन्योल यथावत् छ ।

निर्वाचन कार्यतालिकालाई अन्तिम रूप दिने तयारीमा आयोग जुटेको छ । मतदाता नामावली र मतदान स्थलको पुनरवलोकन जारी रहँदा नै आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने तयारी गरेको छ ।गोरखापत्र दैनिकमा नारद गौतमले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्