
सशस्त्र प्रहरी बल नेपालको नेपाल एपीएफ अस्पताल र मानव सेवा आश्रमबीच स्वास्थ्य उपचार सम्बन्धी सहमति भएको छ ।
आइतवार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल चोकमा आयोजित एक समारोहबीच सशस्त्र प्रहरी महानिरीक्षक एवं नेपाल एपीएफ अस्पतालका संरक्षक शैलेन्द्र खनाल र मानव सेवा आश्रमका संरक्षक एवं समाजसेवी डा. गोविन्द टण्डनको उपस्थितिमा एपीएफ अस्पतालका तर्फबाट प्राविधिक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक डा. रुपक महर्जन र मानव सेवा आश्रमका तर्फबाट आश्रमका अध्यक्ष रामजी अधिकारीले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।
घोषणा अनुरुप आइतवार गरिएको सम्झौतासँगै नेपाल एपीएफ अस्पतालबाट उपलब्ध हुने इमर्जेन्सी, बहिरङ्ग, जनरल तथा विशेषज्ञ ओपीडी, अन्तरङ्ग सेवा अन्तर्गतका वार्ड सबै, आईसीयू, एचसीयू, एचडीयू, अस्पतालमा उपलब्ध हुने माईनर तथा मेजर अप्रेसन सेवा, प्याथोलोजी सेवा समेत निःशुल्क उपलब्ध हुने एपीएफले जनाएको छ ।
यसैगरी रेडियोलोजी अन्तर्गत एक्सरे, सीटी स्क्यान, अल्ट्रासाउन्ड, इकोकार्डियोग्राफी तथा फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू समेत निःशुल्क रूपमा उपलब्ध हुनेछ । यसैगरी आईसीयू तथा डाईलासिस सेवाका लागि प्रयोग हुने अस्पताल उपलब्ध औषधिहरू, मुटुरोग, मृगौला रोग, मधुमेह आदि भई आजीवन औषधि सेवन गर्नुपर्ने बिरामीहरूको लागि आवश्यक अस्पतालमा उपलब्ध औषधि समेत निःशुल्क उपलब्ध हुनेछन् ।
यसैगरी अस्पतालमा अक्सिजन प्लान्ट रिफिल सिस्टम जडान भई चालू हालतमा रहेको अवस्थामा आश्रमका बिरामीहरूलाई प्रयोग हुन सक्ने अक्सिजन सिलिन्डर उपलब्ध भएमा निःशुल्क रिफिलिङ्ग गरिने छ । यसैगरी मानव सेवा आश्रमको सिफारिस बमोजिम काठमाडौं उपत्यकाभित्र निःशुल्क एम्बुलेन्स र शवबाहन सेवा उपलब्ध हुने, अस्पतालबाट खरिद गरिएका औषधिहरू मानव सेवा आश्रमबाट सिफारिस बिरामीलाई निःशुल्क प्रदान गरिने समेत सम्झौता पत्रमा उल्लेख भएको एपीएफ प्रधान कार्यालयले जनाएको छ ।
अस्पतालमा हाल कायम भएको ११० शय्या बेडमध्ये मानव सेवा आश्रमका बेसहारा, असक्त, असहाय एवं अभिभावकविहीनलाई ३ शय बेड उपलब्ध गराउने छ ।