रुपन्देहीको सैनामैनामा भूमिसम्बन्धी समस्या समाधान आयोग लगत संकलन एकाइ कार्यालय सोमवारदेखि स्थापना भएको छ ।
भूमिहीन लक्ष्मी दमाइँको लगत फाराम गणकमार्फत नगर प्रमुख चित्रबहादुर कार्कीले बुझेर सैनामैना नगरपालिकामा भूमिहीन दलित र भूमिहीन सुकुम्वासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासको व्यवस्थापन गर्ने कार्य शुरू भएको छ ।
सो अवसरमा नगर प्रमुख कार्कीले भूमिहीन दलित वा भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबास भएकालाई जग्गा उपलब्ध गराउने कार्य स्पष्ट कानूनसहित अघि बढेको जानकारी दिँदै लगत संकलनमा लाग्न गणकलाई आग्रह गरे ।
‘जग्गाधनी पूर्जा उपलब्ध गराउने नियम र कानूनअनुसार यो कार्य अघि बढेको छ,’ नगर प्रमुख कार्कीले भने । माघ महिनाभरि अव्यवस्थित बसोबासको लगत संकलन गर्ने र भूमिहीन दलित वा भूमिहीन सुकुम्वासीलाई आवासका लागि १ कठ्ठा र कृषिलाई ६ कठ्ठासम्म जग्गा उपलब्ध गराउने कानूनी व्यवस्था भएबमोजिम प्रक्रिया पुर्याएर वितरण गरिने उनले बताए ।
‘भोगचलान गरेका भनी आफूसँग भएको प्रमाणसहित लगत संकलन गरी पाँउ भनेर एउटा निवेदन दिनुहोस्,’ नगर प्रमुख कार्कीले भने, ‘जग्गा नापजाँचको काम हुन कानूनी प्रक्रियापछि जग्गा उपलब्ध गराउन लेखापढी गर्न पठाउने छांै, त्यसपछि पूर्जा वितरण हुनेछ ।’
भूमिसम्बन्धी समस्या समाधान आयोगसँग सैनामैना नगरपालिकाले सम्झौता गरेलगत्तै सैनामैनामा सो काम शुरू भएको हो । सैनामैनामा नगर भित्रको १०७ टोल विकास संस्थाबाट गणक छनोट गरी उनीहरुलाई आवश्यक परामर्श तथा अभिमुखीकरण प्रदान गरिएको छ ।
नगरस्तरीय भूमिसम्बन्धी समस्या समाधान सहजीकरण समिति र वडास्तरीय भूमिसम्बन्धी समस्या समाधान सहजीकरण समिति गठन भइसकेको छ । भूमिसम्बन्धी समस्या एकाइ कार्यालयको संयोजकमा सैनामैनाका अधिकृत प्रमोद खनाललाई तोकेको छ भने अधिकृत सन्तकुमार चौधरी र केवशराज अर्याल नगरस्तरीय कार्यालयबाट खट्ने छन् ।
भूमिसम्बन्धी समस्या समाधान आयोगले माघ ९ गते प्रथम पटक सूचना प्रकाशित गरिसकेको छ । आयोगले तोकेको ढाँचा बमोजिम निवेदन फाराम भरी मिति २०७७ फागुन १३ गतेभित्र वडा कार्यालयमार्फत् घरदैलोमा खटिएका लगत संकलन वा सम्बन्धित वडा कार्यालयमा फारममा उल्लेखित विवरणलाई पुष्ट्याइँ गर्ने प्रमाण कागजात सिधैं पेश गरिसक्नुपर्ने बताइएको छ ।