श्रीकृष्णले आफ्नी बहिनी सुभद्राको विवाह अर्जुनसँग गराउनका लागि रचेको लीलाका बारेमा सबैलाई जानकारी छ । तर भतिजी वत्सलाको विवाह गराउन पनि श्रीकृष्णले रणनीति बुनेको धेरैलाई थाहा नहुन सक्छ ।
अर्जुनका छोरा अभिमन्यु आफ्नी माता सुभद्रासँग द्वारकामा बस्दै गर्दा वत्सला पनि सँगै हुर्किरहेकी थिइन् । दुवै एकैपटक हुर्किरहँदा सुभद्राले अभिमन्युको विवाह सुभद्रासँग गर्ने सपना देखेकी थिइन् ।
तर वत्सला विवाहयोग्य हुँदा पाण्डवहरू वनवासमै थिए । बलरामले छोरी वत्सलाको विवाह दुर्योधनका छोरा लक्ष्मणसँग गर्न चाहे ।
यो कुरा सुभद्राले थाहा पाएपछि श्रीकृष्णकहाँ पुगिन् । सुभद्राको कुरा सुनेर श्रीकृष्णले भन्नुभयो, ‘तिम्रो विावहका लागि मैले दाजु बलरामको विरोध गरेको थिएँ । फेरि पनि विरोध गरेर उहाँलाई दुःखी बनाउन चाहन्नँ । कुनै मायावी राक्षसले वत्सलाको हरण गरेमा केही हुन सक्छ ।’
यति भनेर श्रीकृष्ण द्वारका नगरीबाट निस्कनुभयो ।
सुभद्रा श्रीकृष्णको कुरा मनमा लिँदै जंगलतिर गइन् । बेलुका पनि नफर्केपछि अभिमन्यु उनलाई खोज्न निस्किए । अभिमन्युले आमालाई भेटेर समस्याका बारेमा सोध्दा श्रीकृष्णसँग भएको कुराकानी सुनाइन् । त्यतिखेरै मायावी राक्षस घटोत्कच त्यहाँ आइपुगे ।
घटोत्कच भीमका छोरा थिए । उनी बुद्धिमान र बलशाली थिए । उनले वत्सला हरणको कार्य गर्ने बताए ।
पछि दुर्योधनले छोरो लक्ष्मणलाई वत्सलासँग विवाह गराउन द्वारका आउँदा घटोत्कचले वत्सलाको अपहरण गरेर लगे । अनि अर्कै ठाउँमा अभिमन्युसँग विवाह सम्पन्न गरिदिए । अनि घटोत्कचले लक्ष्मणलाई यति धेरै तर्साइदिए कि लक्ष्मणले आजीवन विवाह नगर्ने प्रतिज्ञा गरे ।
यसरी भतिजीको विवाह आफैं प्रत्यक्ष संलग्न नभई श्रीकृष्णले पूरा गर्नुभयो ।