२८ जेठ २०८३, बिहीबार

प्रधानमन्त्री ओलीको प्रश्न : ‘३ करोड मान्छेमा २/४ जना जाँदा पार्टी फुट्यो ? हामी जित्छौं'

प्रधानमन्त्री ओलीको प्रश्न : ‘३ करोड मान्छेमा २/४ जना जाँदा पार्टी फुट्यो ? हामी जित्छौं'

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीले स्पष्ट बहुमत ल्याउने दाबी गरेका छन् ।

काठमाडौंको प्रज्ञा भवनमा आयोजित अखिल नेपाल किसान महासंघको कार्यक्रममा बोल्दै ओलीले २/४ जना पार्टीबाट जाँदा फुटेको नहुने तर्क गरे ।

‘हामीले निर्वाचनमा बहुमत ल्याउनुपर्छ । पार्टी फुटेको बेला कसरी बहुमत आउँछ भन्छन् । ३ करोड मान्छेमा २/४ जना जाँदा फुट्यो ?’ उनले भने, ‘हामीले जित्नुपर्छ र हामी जित्छौं ।’

ओलीले प्रचण्ड–नेपाल समूहको आमहड्तालका क्रममा जनतामाथि ज्यादति भएकोप्रति आपत्ति जनाए । ‘बाटाको छेउमा बेच्न राखेको टमाटर तरकारी फ्याँकिएको छ,’ उनले भने, ‘उहाँहरू धाकधक्कु लगाउनुहुन्छ, कानून मान्दिनँ भन्नुहुन्छ ।’

प्रचण्ड–नेपालले आमहड्तालका क्रममा जनताको गाडी जलाए पनि आफू तमासा हेर्न गाडीमा शयर भएका टिप्पणी गरे । ‘अरुका गाडी जलाउनुभयो, आफू गाडीमा शयर गरेर तमासा हेर्नुभयो, जनताले कति दुःख पाए भनेर,’ उनले भने, ‘अर्काे नेता बाइक लिएर जनताले कति दुःख पाए भनेर रमिता हेर्दै हिँडेका छन् । कार्यकर्ता छैनन्, आफैं उत्रिनुभयो ।’

लोकतन्त्र भनेको कानूनको राज भएकाले बलमिच्याइँ नचल्ने ओलीले बताए । ‘प्रचण्डलाई सम्झाउन चाहन्छु – तपाईंले संविधान मान्दिनँ भनेको त्यो जमाना गए,’ उनले भने ।

ओलीले मान्छे बिग्रियो भने कम्युनिस्ट बर्काे ओढेर बाटोमा पुग्ने टिप्पणी गरे । ‘किसान महासंघले अब राजनीतिक जागरण फैलाउनुपर्छ,’ उनले भने, ‘मान्छे बिग्रियो भने कहाँ पुग्छ ? कम्युनिस्टै बर्काे ओढेर बाटोमा बस्ने । कम्युनिस्टको सबभन्दा ठूलो विरोध, लोकतन्त्रको सबैभन्दा ठूलो विरोधी कम्युनिस्ट नै ।’

विगतमा कम्युनिस्ट आन्दोलनलाई पटक–पटक बदनाम गराउने काम भएको समेत ओलीले बताए । ‘कम्युनिस्ट आन्दोलन भनेको मानवता नभएको, स्वार्थका लागि जे पनि गर्न मिल्छ हुन्छ भन्ने खालको बनाइयो,’ उनले भने ।

उनले नेकपा प्रचण्ड–नेपाल समूहप्रति लक्षित गर्दै कुरा नबुझेर सडकमा हल्लिरहेका टिप्पणी गरेका छन् । ‘ठूलो–ठूलो जुरो भएका नेताहरू किसानका कुरा बुझ्दैनन्, तपाईंले बुझेको कुरा नबुझेकाहरू सडकमा हल्लिरहेका छन्,’ ओलीले भने, ‘उहाँहरू प्रतिगमन देखिरहनुभएको छ, प्रतिगमन होइन जागरण भएको छ, किसान आन्दोलनले जागरण ल्याएको छ ।’

salt training

कमेन्ट गर्नुहोस्