
दोलखाको तामाकोशी गाउँपालिकाले ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई दक्ष स्वास्थ्यकर्मीमार्फत घरघरमा पुगेर निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरेको छ ।
माघ १५ गतेदेखि सञ्चालन गरेको ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण घरदैलो कार्यक्रमबाट ७ वडाका २ हजार ३१४ जनाले सेवा पाएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका अनुसार सेवा लिनेमा १ हजार २०९ महिला र १ हजार १०५ पुरुष रहेका छन् । प्रत्येक वडामा २/२ जनाका दरले दक्ष स्वास्थ्यकर्मीको टोलीसहित घरघरमा पुगेर स्वास्थ्यपरीक्षण तथा औषधि वितरण गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अरुणकुमार मिश्रले जानकारी दिए ।
गाउँपालिका–१ भिरकोटका ३०५, वडा नम्बर २ झुलेका ३१८, वडा नम्बर ३ जफेका ४१२, वडा नम्बर ४ मालुका ४०७, वडा नम्बर ५ सहरेका ३००, वडा नम्बर ६ च्यामाका ३३६ र वडा नम्बर ७ हाँवाका २२६ जना ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरिएको उनले बताए ।
गाउँपालिकाले वर्षमा २ पटक ६ महिनाको फरकमा घरघरमा पुगेर ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । हरेक नागरिकको स्वास्थ्य उपचार नैसर्गिक अधिकार भएको र ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको जटिल रोगबाहेक समान्य परीक्षणको लागि स्वास्थ्य संस्थासम्म पुग्न समस्या हुने भएकाले गाउँपालिकाको स्वास्थ्य कार्यक्रमअन्तर्गत घरघरमा सेवा प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले बताए ।
शिविरमा परीक्षण गराउँदा सामान्यबाहेक अन्य रोगको लक्षण देखा परेमा स्वास्थ्य संस्थामा उपचारका लागि पठाउने गरेको छ । स्थानीय सरकार आएसँगै घरघरमा स्वास्थ्य सेवा पाएको भन्दै ज्येष्ठ नागरिकले खुशी व्यक्त गरेका छन् । नागरिकलाई गाउँमानै सहज स्वास्थ्यसेवा प्रदान गर्ने उद्देश्यले गाउँपालिकाले वडा नम्बर ३ जफेमा ल्याबसमेत सञ्चालनमा ल्याएको छ ।
सामान्य बिरामीले पनि रगत तथा अन्य परीक्षण गराउनका लागि दिन बिताएर सदरमुकाम जानुपर्ने बाध्यताको अन्त्यका लागि गाउँपालिकाबाटै सो सेवा प्रदान गर्ने उद्देश्यले ल्याब सञ्चालनमा ल्याएको स्वास्थ्य संयोजक मिश्रले बताए । यो सेवा प्रभावकारी बन्दै गएको पनि उनको भनाइ छ ।