
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रमा अझै केही समयसम्म नकारात्मक प्रभाव देखिन सक्ने बताएका छन् ।
उनले अर्थतन्त्रमा आउन सक्ने चुनौतीलाई सम्बोधन गर्नका निम्ति प्रभावकारी र व्यावहारिक कार्यदिशा अवलम्बन गर्नुपर्नेमा समेत जोड दिएका छन् ।
एलिएन्स फर फाइनान्सियल इनक्लुजन (एएफआई)ले बिहीवार आयोजना गरेको एक कार्यक्रमलाई भर्चुअल रूपमा सम्बोधन गर्दै उनले अर्थतन्त्रमा देखिएको चुनौतीको सामना गर्दै समावेशी र दिगो आर्थिक पुनरुत्थान हासिल गर्न सबै पक्षको सामुहिक प्रयास आवश्यक रहेको बताए ।
एएफआईको सञ्चालक समिति सदस्यसमेत रहेका गभर्नर अधिकारीले भने,‘कसैको एक्लो प्रयासबाट मात्रै यो महामारीले निम्त्याएको सङ्कटलाई सम्बोधन गर्न सम्भव छैन । अतः समावेशी र दिगो आर्थिक
पुनरुत्थानको निम्ति सरोकारवाला सबै पक्षको पहल आवश्यक छ । सामुहिक समर्पणको भावनाबाट मात्रै त्यो सम्भव देखिन्छ ।’
बितेको एक वर्षमा एएफआईको सामुहिक नीति र नियामकीय अभ्यासले कतिपय जोखिमको न्यूनीकरणमा महत्वपूर्ण भूमिका निभाएको उनको धारणा थियो ।
उनले भने,‘यो अवधिमा हामीले समाजको सर्वाधिक जोखिममा रहेका वर्गको संरक्षणका निम्ति केही प्रयास गरेका छौं । यसलाई अझ प्रभावकारिताका साथ निरन्तरता दिन आवश्यक छ ।’
उक्त बैठकमा कोभिड महामारी र नेपालको सन्दर्भबारे चर्चा गर्दै गभर्नर अधिकारीले नेपालको पर्यटनसँगै लघु, साना र मझौला उद्यम/व्यवसाय बढी प्रभावित बनेको धारणा उनले राखे ।
यसलाई सम्बोधन गर्न नियामक निकायको हैसियतमा नेपाल राष्ट्र बैंकले सहजीकरणको निम्ति विभिन्न नीतिगत व्यवस्था अवलम्बन गरेको गभर्नर अधिकारीले जानकारी दिए ।
कोभिड १९ बाट प्रभावित व्यवसायलाई राहतस्वरूप बैंक तथा वित्तीय संस्थामार्फत पुनरकर्जा सुविधा उपलब्ध गराइएको र सो अवधिमा विद्युतीय माध्यममार्फत हुने भुक्तानी कारोबारलाई प्रबद्र्धन गरिएको उनले उल्लेख गरे ।
सो अवसरमा गभर्नर अधिकारीले समाजका महिला, विपन्न, अदक्ष श्रमिक, लघु तथा साना उद्यमी र त्यहाँ काम गर्ने श्रमिकको आर्थिक तथा सामाजिक उत्थानमा टेवा पुग्नेगरी नीतिगत व्यवस्था अवलम्बन गर्नुपर्ने
आवश्यकतामा जोड दिए ।
एएफआईका सदस्य मुलुकमा अवलम्बन भएका नीतिगत र कार्यगत अभ्यासको अनुभव आदानप्रदानमा उक्त बैठक फलदायी हुने विश्वाससमेत उनको विश्वास रहेको थियो ।
कार्यक्रमा एएफआईका कार्यकारी निर्देशक डा. अलफ्रेड हनिङले ‘फाइनान्सियल इन्क्लुजन पोलिसी लेसन्स इमर्जिङ फ्रम द पान्डेमिक’ विषयमा आफ्नो मन्तव्य राखे ।
कार्यक्रममा सहभागीहरूबीच विभिन्न विषयमा छलफल र कार्यक्रमको अन्त्यमा बैठकको समीक्षा भएको थियो ।
छलफल सत्रमा बैठकमा सहभागी अन्य केन्द्रीय बैंकका अधिकारीहरुले पनि आ–आफ्नो मुलुकमा अवलम्बन गरिएका नीतिगत व्यवस्थाबारे जानकारी गराएका थिए ।
बैठकमा एएफआईका सदस्य रहेका केन्द्रीय बैंकका गभर्नर र उच्च अधिकारीहरूसहित ३३ जनाको सहभागिता थियो ।