
प्रधानमन्त्री केपी शर्मा ओली पक्षको नेकपाले शुक्रवार दरबारमार्गमा आयोजना गरेको बृहत आमसभामा थरिथरिका दृष्य देखिए ।
बदाम तथा चटपटको व्यापार फस्टाएको देखियो भने सभामा सहभागितासँगै पशुपतिको दर्शन गर्न पाइन्छ भनेर आएकाहरू पनि भेटिए ।
बाराको बारागढी गाउँपालिकाबाट माइक्रो बस चढेर हिजो बेलुका ८ बजे १३ जना महिला र ४ जना पुरुषसहित १७ जनाको टोली काठमाडौं हिँड्यो ।
३० वर्षदेखि ७० वर्ष उमेरसम्मका महिला र वडाध्यक्षसहित ५० वर्षसम्मका पुरुषहरूको टोली शुक्रवार बिहान ५ बज्दा काठमाडौं ओर्लिएका थिए ।
उनीहरू काठमाडौं आउनुको ३ वटा उद्देश्य रहेछन् ।
एक जनसभामा उपस्थित हुने, दुई पशुपतिनाथको दर्शन गर्ने, तीन गाउँमा मन्दिर बनाउनका लागि सहयोग जुटाउने ।
काठमाडौं ओर्लिनेबित्तिकै उनीहरू पशुपति नाथ पुगे । दर्शन पनि गरे ।
‘हमनीके पशुपति मन्दिर दर्शन करके बहुत इच्छा रहलख, आज पूरा भइल, भगवान पशुपतिनाथ हमनीके कल्याण करस...।’
अर्थात– पशुपति जाने ठूलो धोको थियो, पूरा भयो ।

उनीहरूले आफूहरूलाई जनसभा हेर्ने मन पनि भएको बताए ।
अब मन्दिरका लागि सहयोग जुटाउने प्रयास भने जारी नै छ ।
गाउँपालिकामा कांग्रेसले जितेको छ । शुरूमा उनीहरूले कांग्रेससँग नै आग्रह गरेका रहेछन्, तर सुनुवाइ भएन ।
‘हामीले धेरैचोटि मन्दिर बनाउन भन्यौं तर नसुनेपछि यता आएका हौं,’ उनले भने ।
वडाध्यक्ष श्याम यादव र अर्कै गाउँपालिकाका अध्यक्षको पहलमा काठमाडौं आएका उनीहरू आजै फर्किँदै छन् ।
आमसभामा तराई मूलका मानिसहरूको उल्लेख्य सहभागिता थियो । वृद्धवृद्धा पनि ठूलो संख्यामा देखिए ।
बदाम र चटपटको व्यापार
आम सभामा मानिसहरू नेताको भाषण सुन्ने मात्र होइन, चित्तबुझ्दो कुरा आउँदा हूटिङ पनि गरिरहेका थिए ।
तर, एकाथरिलाई भने बदाम र चटपट बेच्न भ्याइनभ्याइ थियो । फलफूलको व्यापार पनि राम्रै चलेको देखियो ।
सिन्धुलीका सन्तोष भुर्तेलले असन, दरबारमार्ग लगायतका क्षेत्रमा बदाम बिक्री गर्दै आएका छन् । आज उनले सामान्य समयभन्दा धेरै बदाम ठेलामा राखेको बताए ।

सामान्यतया २ हजार ५ सय सम्मको व्यापार गर्ने उनले आज २० हजारको लक्ष्य राखेका रहेछन् ।
‘आज ठूलो सभा छ भनेर धेरै बदाम ल्याएको छु, यो बिक्री भयो भने २० हजार रुपैयाँ उठ्छ । १० हजार त फाइदा हुन्छ,’ भुर्तेलले लोकान्तरसँग भने ।
अर्का ठेला व्यापारी हुन्, दिलकुमार माझी । उनले भुटेको मकै, भटमास, चना र चटपटको व्यापार गर्दै थिए ।
१२ बजेदेखि सभामा आएका उनको ठेलामा कसैले केपी ओलीको झण्डा राखिदिएको थियो । त्यसकै कारण आफ्नो सबै सामान सकिएको उनले बताए ।

‘एक जनाले कामरेड भन्दै प्रधानमन्त्रीको फोटो राखिदियो, त्यसपछि त सबै कामरेड चटपट खाऊँ भन्दै आए, २ घण्टामै सकियो,’ माझीले लोकान्तरसँग भने, ‘१० हजार उठ्यो, अब घर हिँड्न लागेको ।’
अन्य समयमा दिनमा १५ सयको व्यापार हुनेगर्थ्यो ।
गरिबलाई के आन्दोलन, के नारा जुलुस !
घण्टाघरअगाडि सयौंको हुल नारा लगाउँदै थियो, तर सडकको एक कुनामा वीरगञ्जका लालबहादुर साह भने– ‘सयको डेढ किलो, सयको डेढ किलो’ भनेर चिच्याइरहेका थिए ।

उनले साइकलमा सुन्तला, केरा, स्याउ बिक्री गर्न राखेका थिए ।
‘गरीबलाई के आन्दोलन, के नारा जुलुस ! बिक्री भएन भने खान पाइँदैन सर,’ शाहले लोकान्तरसँग भने, ‘जसको आन्दोलन भएपनि मेरो व्यापार भए हुन्थ्यो ।’




