![नेपालमा हिन्दी फिल्म नचली नेपाली फिल्ममा पनि दर्शक आउँदैनन् : दीपकराज गिरी [अन्तर्वार्ता]](https://lktcdn2.prixacdn.net/media/Deepak_Raj_Giri_1zQRxaQRez.png)
कोरोना महामारीपछि अहिले नेपाली चलचित्र उद्योग नराम्ररी थलिएको छ । हल खुलेपनि निर्माताहरू फिल्म लगाउन तयार भएका छैनन् ।
कोरोना महामारीपछि नेपाली चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ प्रदर्शन भयो । तर, यसको व्यापार निकै निराशाजनक रह्यो ।
यस फिल्मको असफलतापछि हलमा प्रदर्शन हुने भनिएका अरू चलचित्र पछि हटेको चर्चा छ ।
यसबीचमा दीपकराज गिरी तथा दीपाश्री निरौलासहितको टीमको फिल्म ‘छ माया छपक्कै’ युट्युबमा सार्वजनिक भयो ।
गएको भन्दा अघिल्लो दशैंमा राम्रै व्यापार गरेको ‘छ माया छपक्कै’ले २ सातामा ६१ लाख भ्युज पाएको छ ।
युट्युबमा फिल्म हेर्ने दर्शक उल्लेख्य भएपनि नेपाली फिल्म हेर्न दर्शक हलमा गइरहेका छैनन् । यस्तो अवस्था किन ? नेपाली चलचित्र उद्योग थलिएकै हो त ?
यसै विषयमा लोकान्तरका लागि रामजी ज्ञवालीले पछिल्लो समयका चर्चित फिल्म निर्माता एवं अभिनेता दीपकराज गिरीसँग कुराकानी गरेका छन् ।
प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :
लामो रस्साकस्सीपछि फिल्म हलहरू खुले तर, फिल्म लागिरहेको छैन । लागेको फिल्मले पनि दर्शक पाएन । के नेपाली चलचित्र उद्योग थलिएकै हो त ?
खासमा भन्ने हो भने हामी चलचित्र बनाउँदा गम्भीर भएनौं । यसका पछि धेरै कारण हुन सक्छन् । हामी किन गम्भीर भएनौं ? किन चलचित्र बनाउँदा मेहनत गरेनौं ? किन हतारमा चलचित्र प्रदर्शन गर्छौं ? म त्यसका पछाडि जान्न ।
एउटा यस्तो प्रेम कहानीजस्तै चलचित्रहरूको भीडका बीच केही राम्रा चलचित्र आउँछन् र उनीहरूले लीड गर्छन्, यो हुँदै आएको कुरा हो ।
चलचित्रप्रति दर्शक, निर्माता, निर्देशक आकर्षित गर्ने भनेको पनि यी केही चलचित्रले हो । कोरोना महामारीले चलचित्र उद्योगको बिजोग गराएको भन्दा पनि थप मेहनत गरेर आउनुपर्छ भन्ने एक खालको निर्देशन दिएको हुन सक्छ ।
मास्टर चल्ने तर 'एउटा यस्तो प्रेम कहानी' नचल्ने, थोरै चलचित्रले लीड गर्छन् भनेर घुमाउरो पारामा आफ्नो ब्यानरको प्रचार गर्न खोज्नुभएको हो ?
त्यस्तो भन्न खोजेको होइन । हामीले कहिल्यै हामी नम्बर वान, हामी यस्तो, हामी उस्तो भनेका छैनौं । तपाईं आफै भन्नोस्, हाम्रो ब्यानरप्रति र हामीप्रति दर्शकको चाहना र आशा कस्तो खालको छ ।
दर्शकको माया र शुभचिन्तकको साथ तथा हौसलाले हामी अलिकति बढी चनाखो हुनुपर्छ भन्ने लागेको छ ।
साँच्चिकै भन्ने हो भने हाम्रा हरेकजसो प्रोजेक्टलाई दर्शकले रुचाइदिनुभयो । शायद हाम्रा चलचित्रले लीड गरेको हुन सक्छन् ।
सहजै चलचित्र उद्योग चलायमान अझै सही तरिकाले हुन सकेन, चलायमान होला भनेरै नेपाली चलचित्र आएको हो, तपाईंले त्यो जोखिम पनि उठाउन सक्नुभएन नि !
आफू मरेर जोखिम उठाउने कुरा हुँदैन । आफू बाँचेपछि अरू कुरा सोच्न सकिन्छ ।
भारतका मुख्य ब्यानर र लीड कलाकारका चलचित्र घोषणा हुन थाले, तपाईंले हरेक वर्ष दशैंमा चलचित्र आउँथ्यो, यसपटक आएन । अबको दशैंमा पनि नआउने हो ?
यसपटक कोभिड– १९ का कारण आएन, त्यो सबैलाई थाहा छ । तर, आज पहिलोपटक भन्छु, हाम्रो ब्यानरबाट आगामी दशैंमा पनि कुनै चलचित्र आउँदैन ।
तपाईं निर्माता मात्रै होइन कलाकार पनि हो । २०७७ भित्र कुनै प्रोजेक्टमा तपाईंलाई दर्शकले भेट्न सक्लान् ?
कुन चलचित्र र कसको नसोध्नोस् । तर, म र माग्ने बुढाको अभिनय रहने एउटा चलचित्र आउँछ ।
एउटा कुरा भनिदिनुस् न, केही समयअघि तमिल चलचित्र ‘मास्टर’ले दमदार व्यापार गर्यो, नेपालबाट पनि राम्रै कमाई गरेको कुरा छ । सधैँ नेपालमा भारतीय चलचित्र चल्छन्, नेपाली चलचित्र पत्तासाफ भएको किन हो ?
तीतो यथार्थ भन्छु, नेपालमा ६० प्रतिशत भारतीय चलचित्रले राज गरेको अवस्था छ । ३० प्रतिशत नेपाली चलचित्रले ठाउँ पाउँछ भने १० प्रतिशत अंग्रेजी चलचित्र चल्छन् ।
गलत अर्थ नलागोस् तर नेपालमा हिन्दी चलचित्र जबसम्म चल्दैनन् त्यसबेलासम्म स्वयं नेपाली चलचित्र चल्दैनन् । हिन्दी चलचित्रले नेपालमा चलचित्र हेर्ने माहोल बनाउँछ । नेपाली चलचित्र उद्योगको मुख्य सप्लायर्स बलिउड हो ।
जबसम्म उसले यहाँ मार्केट बनाउँदैन त्यसबेलासम्म नेपाली चलचित्र चल्दैनन् । हिन्दी चलचित्र र नेपाली चलचित्र भनेका नङ र मासु जस्तै हुन् ।
झण्डै १ वर्ष चलचित्र नल्याउने घोषणा गरिसक्नुभएको छ, अहिले के गर्दै हुनुहुन्छ ?
म अहिले फार्म हाउस निर्माणमा व्यस्त छु । यो फार्म हाउस बनाएर दिनचर्या कटाउने मेसो होइन कि यसलाई वास्तवमै नमूना फार्म हाउस बनाउने गरी काम भइरहेको छ ।
अर्को कुरा चलचित्र छिट्टै पो नबनाउने कुरा हो, तर ढिला चाँडो त चलचित्र बनाउनुपर्छ । त्यसका लागि हामीले विगतदेखि नै जारी राखेको स्क्रिप्ट लेखनमा व्यस्त छौं ।