०२ असार २०८३, मंगलबार

सबैतिर विस्थापन भएनन् तुइन, कर्णाली नदी तर्न तुइनकै भर

माघ २७, २०७७
सबैतिर विस्थापन भएनन् तुइन, कर्णाली नदी तर्न तुइनकै भर
प्रतिकात्मक तस्वीर

सडक यातायातले हालसम्म नजोडिएको हिमाली जिल्ला हुम्लामा हालसम्म स्थानीयलाई कर्णाली नदी तर्न तुइन चढ्नुपर्ने बाध्यता छ ।

वर्षौंदेखि स्थानीयवासीले नदीमा भोलुङ्गे पुल बनाउन अनुरोध गर्दा पनि कोही कसैबाट माग पूरा नहुँदा सर्केगाड गाउँपालिका–२ रिपगाउँका नागरिकले तुइन तर्नुपरेको हो ।

पुल नहुँदा बर्सेनि तुइन तर्नु परिरहेको सर्केगाड–२ रिपगाउँका स्थानीय जुनदेवी फडेराले बताइन् । हिउँदयाममा नदीको बहाव कम भएका कारण तुइन तर्न कम जोखिम भए पनि बर्खायाममा भने त्रासका बीच तुइन तर्नु परिरहेको फडेराले गुनासो गरिन् ।

गाउँका २०० घरधुरीका बासिन्दा दाउरा, घाँसका लागि दैनिकरूपमा तुइन तर्ने गरेका छन् । घाँस र दाउरा पनि तुइनमै तार्नुपर्ने भएका कारण धेरै भारी नदीमा खसेको फडेराले बताइन् ।

खार्पुनाथ गाउँपालिका–४ मा रहेको कर्णाली नदीमा समेत तुइनकै भर पर्नु अवस्था छ । गाउँपालिकामा काम पर्दा तुइन तरेर जानुपर्ने बाध्यता नहटेको खार्पुनाथ–४ छिप्रागाउँका स्थानीय बबरजङ्ग हमालले बताए । उक्त स्थानमा झोलुङ्गे पुल बनाउने योजना भए पनि निर्माण कम्पनीले हालसम्म नबनाएका कारण स्थानीयलाई तुइनकै भर पर्नुपर्ने बाध्यता रहेको हमालले बताए ।

तुइन तर्दा धेरै स्थानीयका हातमा चोट लागेको भन्दै केही महिना अगाडि १ जना स्थानीय तुइनबाट खसेर घाइते भएका उनले बताए । खार्पुनाथ शिवालयबाट गाउँपालिका केन्द्रमा जाँदा बाटो लामो पर्ने भएका कारण स्थानीय सबै तुइन नै तर्ने गर्छन् ।

खार्पुनाथ–२ बोक्चेगांैडा क्षेत्रमा पनि तुइनबाटै स्थानीय आवतजावत गर्ने गरेको बटुवा हिक्मत शाहीले बताए । पुलको योजना परे पनि निर्माण नहँुदा यसै आर्थिक वर्ष गाउँपालिकाले कर्णाली नदी वारपार गर्न २ स्थानमा सिमेन्टको पिलरसहितको तुइन निर्माण गरेको गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलले बताए ।

स्थानीयको ज्यान जोखिममा पर्ने भएका कारण तुइन निर्माण गर्नुपरेको बताए । सरकारले तुइन विस्थापन गर्ने भनेको भए पनि हुम्ला जिल्लाभरि कर्णाली नदीमाथि आधा दर्जन तुइन निर्माण भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्