
वैशाख १७ र २७ गतेका लागि तोकिएको प्रतिनिधि सभाको चुनावको तयारीबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओली मंगलवार निर्वाचन आयोग जाँदैछन् ।
प्रधानमन्त्री ओली ११ बजे निर्वाचन आयोग जान लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्रीसँगै उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल पनि निर्वाचन आयोग जाँदैछन् ।
निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले छलफलका लागि प्रधानमन्त्री आयोग आउन लागेको पुष्टि गरे ।
प्रधानमन्त्री ओलीले वैशाख १७ र २७ को चुनाव एकदिन पनि पर नसर्ने बताउँदै आएका छन् ।
मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरी वैशाख १७ र २७ गतेका लागि चुनाव घोषणा गरेकी थिइन् ।
प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ जारी छ ।