
बंगलादेशबाट नेपाल ल्याउन लागिएको ५० हजार मेट्रिक टन रासायनिक मल खरिद प्रक्रिया शुरूआत भएको छ ।
सरकार र बंगलादेश सरकार (सरकार–सरकारबीच जिटुजी) सम्झौताअनुसार मल खरिदको प्रक्रिया शुरु भएको कृषि सामग्री कम्पनीले जनाएको छ ।
यसअघिको सम्झौताअनुसार नेपालमा मल ढुवानी गर्ने कम्पनीले बंगलादेशमा मल बुज्न थालेको कृषि कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले जानकारी दिए ।
“हामीले ढुवानीका लागि छनोट गरेको कम्पनीले आजबाट मल बुज्न थालेको जानकारी आएको छ, उताको सबै तयारी सकेर अब छिट्टै नेपालमा मल ढुवानी हुनेछ”, उनले भने, “बंगलादेशको कम्पनीले दैनिक उत्पादन गरेको मल हामीलाई दिने भनेको छ, दैनिक जति मल उत्पादन हुन्छ । हामीले छनोट गरेको कम्पनीले सोही अनुसार विभिन्न लटमा ढुवानी गर्छ ।”
ढुवानी कम्पनीले पहिलो लटमा २० हजार मेट्रिक टन रासायनिक मल ल्याउने तयारी गरेको जनाउँदै भारतीय भन्सार प्रक्रिया मिलाउने काम भइरहेको उनले जानकारी दिए । पहिलो लटमा रेलमार्ग हुँदै आउने मल कृषि सामग्री कम्पनीको विराटनगर, वीरगञ्ज र भैरहवामा रहेका गोदाममा राखिने कम्पनीले जनाएको छ ।
कृषि सामग्री कम्पनीले बंगलादेशबाट ल्याइने रासायनिक मल ढुवानीका लागि गत असोजमा संयुक्त अरब इमिरेट्स (युएई) को जेन्ट्रेड एफजेडएफ कम्पनीलाई जिम्मा दिइसकेको छ ।
नेपालले बंगलादेशसँग प्रतिमेट्रिक टन २५९.१९५ अमेरिकी डलरमा मल खरिदको सम्झौता गरेको थियो ।
बंगलादेशबाट रासायनिक मल खरिदको तयारीस्वरुप गत पुस २ गते जिटुजी प्रक्रियामार्फत मल खरिदका लागि कृषि सामग्री कम्पनीका प्रबन्ध सञ्चालक भण्डारी र बंगलादेश केमिकल इन्ड्रस्ट्रिज कर्पोरेशनका अध्यक्ष महम्मद एमिन उल अहसनबीच सम्झौता भएको थियो ।
सम्झौता भएको करीब दुई महिनापछि बल्ल मल ढुवानीको प्रक्रिया शुरु भएको हो । कम्पनीले पहिलो लटको मल बिहीबारसम्म नेपालमा ढुवानी हुने अनुमान गरेको छ ।