
प्रधानमन्त्रीसमेत रहेका नेकपाको एउटा समूहका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग पुगेर सूर्य चिह्न आफ्नो भएको मौखिक दाबी गरेका छन् ।
मंगलवार मध्याह्न प्रधानमन्त्री ओली अर्थमन्त्री विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङसहित आयोग पुगेका थिए । प्रमुख आयुक्त दिनेश थपलियासहित आयुक्तहरूसँग भएको छलफलमा ओलीले पार्टीको आधिकारिकता र सूर्य चिह्न आफूले पाउनुपर्ने दाबी गरेका हुन् ।
'म त जन्मेदेखि नै सूर्य चिह्नमा चुनाव लडेको हुँ,' ओलीको भनाइ उदृत गर्दै आयोग स्रोतले लोकान्तरलाई भन्यो, 'अहिलेसम्म अन्य चिह्नबाट चुनाव लडेको छैन । प्रचण्ड हँसिया हथौडाबाट लड्नुभएको हो । हामी मिलेर अघि जाने उद्देश्यका साथ पार्टी एक बनाएका थियौं तर दुर्घटना भयो । तपाईंहरूले बुझ्नुभएकै छ ।'
ओली समूहको नेकपाले आयोगमा पुगेर लिखितरूपमा अहिलेसम्म आधिकारिकताको दाबी प्रस्तुत गरेको छैन । बरू यसअघि ओली समूह र प्रचण्ड-नेपाल समूहले गरेका छुट्टाछुट्टै निर्णयहरू अभिलेखीकरण गर्न आयोगले अस्वीकार गरेको थियो ।
बिहीवारको छलफलमा सहभागी नेम्वाङका अनुसार आयोगले निष्पक्ष निर्णय लिनेमा ओली विश्वस्त देखिएका थिए ।
'तपाईंहरूले निष्पक्ष र विधिसम्मत ढंगले निर्णय गर्नुहोला भन्नेमा म विश्वस्त छु,' ओलीको भनाइ उदृत गर्दै नेम्वाङले लोकान्तरसँग भने ।
ओलीले निर्वाचनको तयारीका सम्बन्धमा आयोगले अहिलेसम्म गरेका कामहरूको जानकारी लिएका थिए । आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले मतदाता नामावली अद्यावधिक गरिएको, मतदान केन्द्रहरूका बारेमा छलफल शुरू भएको र निर्वाचनसम्बन्धी गरिएका अन्य कामहरूको फेहरिस्त प्रस्तुत गरेका थिए ।
आयोगले निर्वाचनका लागि गरेको तयारीबारे जानकारी लिइसकेपछि ओलीले आफू आयोगका कामबाट सन्तुष्ट रहेको बताए ।