
बैतडीको दोगडाकेदार गाउँपालिकास्थित चडेपानीकी भागरथी भट्ट हत्या प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुगेको प्रहरीले जनाएको छ ।
सोमवार पोस्टमार्टम रिपोर्ट आएको र अनुसन्धान अन्तिम चरणमा पुगेको प्रहरीले जनाएको छ ।
‘सोधपुछ लगभग सकिन लागेको छ । पोस्टमार्टम रिपोर्ट पनि आइसकेको छ । अब फरेन्सिक ल्याब टेस्टको नतिजा मात्र बाँकी हो,’ ती अधिकृतले लोकान्तरसँग भने ।
सोमवार भागरथीको पोस्टमार्टम रिपोर्ट आएपछि उनको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ ।
सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेश सिंहले उनको बलात्कारपछि हत्या भएको पुष्टि भएको बताए ।
‘उनको बलात्कारपछि घाँटी थिची हत्या भएको पोस्टमार्टम रिपोर्टले देखाएको छ,’ एसएसपी सिंहले लोकान्तरसँग भने ।
१७ वर्षीया भट्टको भेजाइनल स्वाब, रगत, कपडा लगायतको नमूना परीक्षणका लागि राष्ट्रिय विधिविज्ञान प्रयोगशाला काठमाडौं पठाएको छ ।
‘अनुसन्धानमा थप सहयोग पुगोस् र बलात्कार भएको भए डीएनएमार्फत अपराधी पत्ता लगाउन सजिलो होस् भन्ने हिसाबले स्वाब परीक्षण गर्न पठाइएको हो,’ एसएसपी सिंहले लोकान्तरसँग भने, ‘त्यससँगै भागरथीले लगाएको कपडा, रगतहरू पनि परीक्षणका लागि पठाएका छौं ।’
प्रहरी चिनेजानेको व्यक्तिबाटै हत्या भएको निष्कर्षमा पुगेको छ ।
‘अहिलेसम्मको अनुसन्धानलाई हेर्ने हो भने चिनजानकै व्यक्तिबाट हत्या भएको निष्कर्षमा पुगेका छौं, तर सबै प्रमाणहरू जुटिसकेका छैनन्,’ ती अधिकृतले लोकान्तरसँग भने ।
अनुसन्धानमा खटिएका प्रहरीका अनुसार भट्टको हात, टाउको र शरीरमा चोट लागेको अवस्था थियो भने गुप्ताङ्गमा रगत देखिएको थियो ।