२८ जेठ २०८३, बिहीबार

बजेट खर्च गर्नेमा लुम्बिनी प्रदेश पहिलो, सबैभन्दा कम खर्च कर्णाली प्रदेशमा

बजेट खर्च गर्नेमा लुम्बिनी प्रदेश पहिलो, सबैभन्दा कम खर्च कर्णाली प्रदेशमा
फाइल तस्वीर

चालु आर्थिक वर्ष (२०७७/७८) को पहिलो ६ महिनामा लुम्बिनी प्रदेशले सबैभन्दा बढी बजेट खर्च गरेको छ । 

चालु आवको साउनदेखि पुस मसान्तसम्ममा लुम्बिनी प्रदेशले २२.८ प्रतिशत खर्च गरेको हो । 

अर्थमन्त्रालयले मंगलवार बजेटको अर्धवार्षिक समीक्षा गर्दै सबैभन्दा बढी बजेट खर्च गर्ने प्रदेश लुम्बिनी भएको जनाएको हो । 

लुम्बिनी प्रदेशले ३६ अर्ब ३५ करोड २५ लाख रुपैयाँ बजेट यस आर्थिक वर्षभित्रमा खर्च गर्ने लक्ष्य लिएको थियो ।

जसमध्ये पहिलो ६ महिनामा यस प्रदेशले ४ अर्ब ७४ करोड ७५ लाख रुपैयाँ चालु खर्च गरेको छ । १७ अर्ब ७३ करोड २५ लाख रुपैयाँ चालु खर्चका लागि बजेट विनियोजन भएकोमा प्रदेशले २६.७७ प्रतिशत खर्च गरेको हो । 

यस्तै लुम्बिनी प्रदेशले १८ अर्ब ६२ करोड पुँजीगततर्फ बजेट विनियोजन भएकोमध्ये हालसम्म १९.२ प्रतिशत खर्च गरेको छ । पहिलो ६ महिनामा यस प्रदेशले ३ अर्ब ५४ करोड २१ लाख रुपैयाँ बजेट खर्च गरेको हो । 

यस्तै प्रदेश नम्बर १ ले विनियोजित बजेटको १८.६८ प्रतिशत खर्च गरेको छ । अर्थमन्त्रालयले चालु आव २०७७/७८ का लागि कुल ४० अर्ब ८९ करोड ९९ लाख रुपैयाँ बजेट अनुमान गरेको थियो । जसमध्ये चालुतर्फ १८ अर्ब ९३ करोड ४९ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । विनियोजित बजेटमध्ये यस प्रदेशले पुस मसान्तसम्ममा १४.७१ प्रतिशत अर्थात २ अर्ब ७८ करोड ५० लाख रुपैयाँ खर्च गरेको छ । 

यस्तै पुँजीगत तर्फ प्रदेश नम्बर १ ले २२.१४ प्रतिशत खर्च गरेको छ । कुल २१ अर्ब ९२ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएकोमध्ये पुस मसान्तसम्म ४ अर्ब ८५ करोड ३८ लाख रुपैयाँ खर्च गरेको हो । 

पुस मसान्तसम्ममा गण्डकी प्रदेशले विनियोजित बजेटको १५.१३ प्रतिशत खर्च गरेको छ । 

यस प्रदेशले पुँजीगत तर्फ १९ अर्ब ९९ करोड ९५ लाख रुपैयाँ विनियोजन गरेकोमा १६.५५ प्रतिशत अर्थात ३ अर्ब ३० करोड ९५ लाख रुपैयाँ खर्च गरेको छ । 

यस्तै चालुतर्फ १४ अर्ब ३४ करोड २७ लाख रुपैयाँ विनियोजन गरिएकोमा १३.६७ प्रतिशत अर्थात १ अर्ब ९६ करोड ११ लाख रुपैयाँमात्रै खर्च गरेको छ । 

बाग्मती प्रदेशले चालु आर्थिक वर्ष २०७७/७८ मा ५१ अर्ब ४२ करोड ७५ लाख रुपैयाँ बजेट अनुमान गरेकोमा १५.३ प्रतिशतमात्रै खर्च गरेको छ । 

यस प्रदेशले चालुतर्फ २६ अर्ब २८ करोड ७३ लाख रुपैयाँ विनियोजन गरेकोमध्ये १७.०२ प्रतिशत अर्थात ४ अर्ब ४७ करोड ४१ लाख रुपैयाँ खर्च गरेको छ ।

यस्तै पुँजीगत तर्फ पुस महिनासम्ममा ३ अर्ब २५ करोड २९ लाख रुपैयाँ खर्च गरेको छ । पुँजीगततर्फ २४ अर्ब १४ करोड २ लाख रुपैयाँ बजेट विनियोजन भएकोमा पुस मसान्तसम्ममा १३.४८ प्रतिशत खर्च भएको हो । 

यस्तै सुदूरपश्चिम प्रदेशले चालु आवको पहिलो ६ महिनामा १२.८२ प्रतिशत बजेट खर्च गरेको छ । यस प्रदेशमा ३३ अर्ब ३८ करोड १३ लाख रुपैयाँ बजेट विनियोजन भएकोमध्ये चालुतर्फ २ अर्ब २९ करोड २६ लाख रुपैयाँ खर्च गरेको छ । यस्तै पुँजीगत तर्फ १ अर्ब ९८ करोड ५८ लाख रुपैयाँ खर्च भएको छ । 

चालु आव २०७७/७८ को पुस मसान्तसम्ममा प्रदेश नम्बर २ र कर्णाली प्रदेशको भने खर्च न्यून भएको देखिएको छ । अर्थमन्त्रालयका अनुसार, प्रदेश नम्बर २ ले ९.५८ प्रतिशत र कर्णाली प्रदेशले ८.३९ प्रतिशतमात्रै खर्च गरेको छ । 
प्रदेश २ ले पुँजीगत तर्फ १ अर्ब ६२ करोड ७ लाख रुपैयाँ खर्च गरेको छ भने कर्णाली प्रदेशले १ अर्ब ११ करोड ९४ लाख रुपैयाँ खर्च गरेको छ ।

चालु अन्तर्गत प्रदेश २ ले १ अर्ब ५९ करोड ५६ लाख रुपैयाँ र कर्णाली प्रदेशले १ अर्ब ७१ करोड १३ लाख रुपैयाँ खर्च गरेको छ । 

तालिका


 

salt training

कमेन्ट गर्नुहोस्