
सरकारले चालु आर्थिक वर्ष २०७७-७८ का लागि विनियोजित बजेट संशोधन गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मंगलबार विनियोजित ‘बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन’ सार्वजनिक गर्दै बजेटको आकार घटाइएको जानकारी गराएका हुन् ।
उनले चालु आर्थिक वर्षको आम्दानी र खर्चको संशोधित अनुमान प्रस्तुत गर्दै विनियोजित बजेटको आकार घटाएर १३ खर्ब ४४ अर्ब ६८ करोड रुपैयाँ खर्च हुने नयाँ प्रक्षेपण सार्वजनिक गरिएको बताए । यो चालु आर्थिक वर्षका लागि विनियोजित बजेटको ९१ दशमलव १९ प्रतिशत हो ।
अर्थमन्त्री पौडेलका अनुसार यो बजेट निर्वाचन र कोभिड खोपमा हुने खर्चसमेत जोडेर हो । उनले यसमा अनिवार्य दायित्व र पूर्वसहमति दिइएका आयोजनाको बजेट कटौती नहुने जानकारी दिए । राजधानी दैनिकमा खबर छापिएको छ ।