संसारका सबभन्दा धनी अर्बपति तथा स्पेसएक्स कम्पनीका मालिक इलोन मस्कले सम्भावित तेस्रो विश्वयुद्धअघि मंगलग्रहमा मानव बस्ती बसाउने घोषणा गरेका छन् ।
उनका अनुसार, मंगलग्रहको शहरका सबै कुरा स्वतः सञ्चालित हुनेछन् ।
मस्कले मार्स सोसाइटीको भर्चुअल सम्मेलनमा मंगलग्रहमा बस्ती बसाउने योजनाको घोषणा गरेका हुन् । सन् २०२६ सम्म मंगलमा मानिस उतार्ने लक्ष्य रहेको मस्कको भनाइ छ ।
मंगलमा छिटो नपुगेमा मानवताको अस्तित्वमा संकट आउन सक्ने उनले बताए ।
उनले भने, ‘के हामी तेस्रो विश्वयुद्धअघि वा पछि मंगल ग्रहमा मानव बस्ती बसाउन सफल हुनेछौं ? आशा गरौं, तेस्रो विश्वयुद्ध हुने छैन तर भइहालेछ भने मंगलग्रहमा बस्ती बसाउने सम्भावना कम हुनेछ ।’
टेस्ला कम्पनीका संस्थापक मस्कले मानवता अनेकौं सम्भावनाको सामना गरिरहेको बताए । एक भीषण युद्ध, महाविनाशक ज्वालामुखी विस्फोट वा उल्कापिण्ड खस्ने वा आफैंले आफैंलाई मार्ने सम्भावनाहरू छन् । मानव सभ्यता धेरै शक्तिशाली नभएको आफूलाई लाग्ने मस्कको भनाइ छ ।
तर मंगल ग्रहमा पनि स्वतः सञ्चालित शहर नबसाएमा बस्न नसकिने उनले बताए ।