१६ असार २०८३, मंगलबार

विरोध सभा : भृकुटीमण्डपबाट ओलीमाथि प्रचण्ड–नेपालको ४ हमला, कांग्रेसलाई निम्तो !

विरोध सभा : भृकुटीमण्डपबाट ओलीमाथि प्रचण्ड–नेपालको ४ हमला, कांग्रेसलाई निम्तो !

प्रतिनिधि सभा विघटनको विरोधमा सडक आन्दोलनमा उत्रिएको नेकपाको पुष्पकमल दाहाल 'प्रचण्ड' - माधवकुमार नेपाल पक्षले विरोध सभामार्फत प्रधानमन्त्री केपी शर्मा ओलीमाथि राजनीतिक हमला गरेको छ ।

अध्यक्षद्वय प्रचण्ड र माधव नेपाल, वरिष्ठ नेता झलनाथ खनाल तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतका वक्ताहरूले प्रधानमन्त्री ओलीमाथि आरोप बर्साए ।

आजको आमसभामा ओलीले जनतालाई बिर्सेर पशुपतिनाथको शरणमा गएको आरोपदेखि १० लाख मान्छे लिएर सिंहदरबार र बालुवाटार घेर्न आउने चेतावनी समेत दिइयो ।

जनता छोडेर पशुपतिनाथको शरणमा

प्रचण्ड-नेपाल पक्षका नेताहरूले ओली जनतालाई बिर्सेर पशुपतिनाथको शरणमा गएको आरोप लगाए । खनाल, नेपाल र प्रचण्ड तीनै जनाले सम्बोधनका क्रममा ओली पशुपतिनाथको शरणमा गएको बताए ।

वरिष्ठ नेता खनालले भने, 'केपी ओलीलाई मार्क्सवादमाथि विश्वास छैन, विज्ञानमाथि विश्वास छैन, उनले पशुपतिनाथमा पुगेर संकल्प पूजा गरेका छन् ।'

अध्यक्ष नेपालले ओलीले मदन भण्डारीको नाम बिर्सिसकेको आरोप लगाए ।

'ओलीजी मदन भण्डारीको नाम जप्ने गर्नुहुन्थ्यो, अहिले त्यो बिर्सेर पशुपतिनाथको मन्त्र जप्न शुरू गर्नुभएको छ । जो मानिस असल छ, राम्रो प्रवृत्तिको छ, पाप गर्नेलाई पशुपतिले पनि माफ गर्दैनन्, चेतना भया !'

अन्तिममा बोलेका अध्यक्ष प्रचण्डले पनि सोही आरोप दोहोर्‍याए । 'केपीजी आजकल जनताको शरणमा जान छोडेर पशुपतितिर जानुभएको छ ।'

आयोग र अदालतलाई धम्की दिएको आरोप

आजका वक्ताहरूले ओलीले निर्वाचन आयोगलाई धम्की दिएको आरोपलाई प्राथमिकताका साथ उठाएका थिए ।

सभा सञ्चालन गरेका नेता लीलामणि पोखरेलले ओलीले आयोगलाई धम्की दिएको सूचना आफूलाई आएको बताए । उनले त्यसविरुद्ध खेद प्रस्ताव पनि पारित गर्न आग्रह गरेका थिए।

सम्बोधनका क्रममा अध्यक्ष नेपालले भने, 'निर्वाचन आयोग पुगेर धम्की दिने ओलीका तर्कमा कुनै दम छैन । उनले भनेबमोजिम उनका कुरा पत्याउन जरुरी छैन । दस्तावेज, सर्कुलर, नियम, विधान हेरे हुन्छ, नत्र एक–एक व्यक्तिको टाउको गनेपनि हुन्छ ।'

अध्यक्ष नेपालले ओलीले निर्वाचन आयोग आधिकारिकताको विवादमा पस्न पाउँदैन भनेर धम्की दिएको दाबी गरे । 'आयोग कानूनबमोजिम विवाद सल्ट्याउने प्रक्रियामा गएको छ तर ओलीले हस्तक्षेप गर्न थालेका छन्,' नेपालले भने ।

निर्वाचन आयोगकै बारेमा प्रचण्ड झन् कडा बोले । 'आजको यो उपस्थितिले अदालतलाई संविधानसम्मत फैसला गर्न सहज भएको छ । यदि आयोग र अदालतबाट संविधानसम्मत फैसला भएन भने आँधी आउँछ, हुरी चल्छ, कसैले थाम्न सक्दैन,' प्रचण्डले भने ।

आयोग र अदालतले संविधानसम्मत फैसला नगरे शान्तिपूर्ण क्रान्ति हुने चेतावनी प्रचण्डले दिए । 'शान्तिपूर्ण विद्रोह, ग्रीन रिभोलुसन हुन्छ । शान्तिपूर्ण क्रान्ति हुन्छ । संवैधानिक निकायहरूले ओली जस्तो निरङ्कुश व्यक्तिले सनकका भरमा गरेको निर्णय स्वीकार्ने काम हुन्छ त ?' प्रचण्डको प्रश्न थियो ।

बालुवाटार र सिंहदरबार घेर्न बाध्य नपारियोस्

सम्बोधनका क्रममा अध्यक्ष प्रचण्डले सिंहदरबार र बालुवाटार घेर्ने चेतावनी दिए । उनले आजको सभामा ५ लाख जनता आएको दाबीसमेत गरे ।

'मलाई एसएमएस गरेर साथीहरूले यो सभामा ५ लाख छन् भन्नुभयो । केपीजी, देख्नुभयो सभा कस्तो हुन्छ ? प्रदर्शन कस्तो हुन्छ ? विरोध कस्तो हुन्छ ? यदि यो आक्रोश, आवेग र पीडा बुझ्नुभएन भने केही दिनपछि सिंहदरबार र बालुवाटार घेर्न दशौँ लाख आउनेछन्,' प्रचण्डले भने ।

सम्बोधनका क्रममा अर्का अध्यक्ष नेपालले सरकारी कोषको दुरुपयोग गरेपनि केही हजार मात्र मान्छे जम्मा गर्न सकेपछि ओली समूह निराश भएको दाबीसमेत गरेका थिए ।

'सरकारी कोषको दुरुपयोग गर्दा पनि २० हजार जुटाउन नसकेपछि सिंगै ओली समूह निराश भएको छ,' नेपालले कटाक्ष गरे ।

ओली समूहबाट फर्किन खोज्नेको लाम!

सम्बोधनका क्रममा अध्यक्ष प्रचण्डले ओली समूहबाट फर्किनेको लाम लाग्न थालेको दाबी गरेका थिए । 'केपीतिर गएकाहरू फर्किने लाम लागेको छ,' प्रचण्डले भने, 'लिस्ट लामो छ । अरू त अरू उहाँले बनाएका २ जना मन्त्रीहरू पनि फर्किने भनेर मसँग वार्ता चलिरहेको छ ।'

प्रचण्डलगायत अन्य नेताहरूले पनि आफूहरू नै आधिकारिक भएकाले सबै फर्किनुपर्ने दाबी गर्दै आइरहेका छन् । केही दिनअघि ओलीनिकट युवा संघको भेलालाई गृहमन्त्री समेत रहेका रामबहादुर थापा 'बादल'को समूहले बहिष्कार गरेको थियो ।

प्रचण्डले मन्त्रीहरूसमेत फर्किन आफूसँग वार्ता गरिरहेको दाबी गरेर ओली समूहमाथि दबाब बढाउन खोजेका थिए ।

आन्दोलनमा कांग्रेसलाई निम्तो

संयुक्त आन्दोलनका लागि प्रचण्ड-नेपाल पक्षले कांग्रेससँग अनुरोध गरिरहेको छ । तर अहिलेसम्म संयुक्त आन्दोलनका बारेमा कुनै सहमति भइसकेको छैन ।

प्रचण्डले आजको आमसभामार्फत आफूहरू नेपाली कांग्रेससँग हातेमालो गर्न तयार रहेको सन्देश दिएका छन् ।

'नेपाली कांग्रेस, र जसपा लगायतका पार्टीहरू अब कुनै भ्रममा पर्न आवश्यक छैन,' उनले भने, 'प्रतिनिधि सभा विघटनको कदम सबैले असंवैधानिक र अलोकतान्त्रिक भएको निष्कर्ष निकालिसकेका छन् । तपाईंहरू भ्रममा नपर्नुस्।'

प्रचण्डले शान्तिप्रक्रिया, गणतन्त्र, संविधान सभा लगायतका सबै कामहरू गिरिजाप्रसाद कोइरालाले गरेको भन्दै कांग्रेस नेता कार्यकर्तालाई रिझाउने प्रयास गरे ।

'संविधान बनाउने बेलामा पनि सुशील कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँलाई त फादर अफ कन्स्टिच्युसन पनि भन्नुहुन्छ तपाईंहरूले । हामीले त्यही संविधान जोगाउन हातेमालो गर्न आग्रह गरिरहेका छौं ।'

प्रचण्डले सभापति देउवालाई संयुक्त आन्दोलनको अवसर गुम्न नदिन आग्रह गरे ।

'यो समय संयुक्त आन्दोलन गरेर केपीको निरङ्कुश कदमलाई खतम गर्ने अवसर हो,' प्रचण्डले भने, 'यो अवसर गुम्न नदिनुस्, हामी तपाईंसँग हातेमालो गर्न तयार छौं ।'

salt training

कमेन्ट गर्नुहोस्