३० जेठ २०८३, शनिबार

विमानस्थल सुधार योजना : पर्यटनले फड्को मार्ने विश्वास

फागुन १, २०७७
विमानस्थल सुधार योजना : पर्यटनले फड्को मार्ने विश्वास
तस्वीर सौजन्य : गोरखापत्र दैनिक

पर्यटकीय सम्भावना बोकेको हुम्लाको सिमकोट विमानस्थलको तीनवटा नयाँ योजनासँगै विकास तथा स्तरोन्नति हुँदैछ ।

विमानस्थलतको स्तरोन्नतिले पर्यटन व्यवसाय फस्टाउने सम्भावना देखिएको छ । विमानस्थलको विकास र थप निर्माणले हवाई सेवा थप सहज र सुचारु हुने भएपछि पर्यटन व्यवसायले फड्को मार्ने विश्वास गरिएको छ ।

सिमकोट विमानको चाप देखेर नै हाल तीनवटा नयाँ योजना एकसाथ निर्माणका क्रममा रहेको नागरिक उड्डयन प्राधिकरणका सिमकोट शाखाबाट प्रमुख विष्णुप्रसाद अधिकारीले जानकारी दिनुभयो । हालको एप्रोनमा नियमअनुसार तीनवटा जहाजलाई पार्किङ गर्नुपर्नेमा बाध्यताका कारण माथिल्लो निकायमा अनुरोध गरेर पाँचवटासम्म जहाज पार्किङ गर्ने गरिएको छ । त्योसँगै अर्को हेलिकप्टरको एप्रोनमा १० देखि १२ वटा हेलिकप्टरले पार्किङ गर्नुपर्ने बाध्यता छ ।

सिजनमा हेलिकप्टरको सङ्ख्या वृद्धि भएमा खालि जग्गामा हेलिकप्टरलाई पार्किङ गर्नुपरेको थियो । नयाँ एप्रोनको काम सम्पन्न भएपछि विमानस्थलमा तीनवटा एप्रोन हुने र सिजनमा हवाई जामको समस्या समाधान हुनेछ ।

त्यसैगरी विमानस्थलको घेरबार जीर्ण भएको बेला नयाँ घेरबारको निर्माण कार्यले विमानस्थललाई सुरक्षा प्रदान गर्न सहज हुनेछ भने कालोपत्र उप्किएर हवाइजहाज अवतरण गर्न कठिन भएका बेला नयाँ कालोपत्रको कामले विमान अवतरणलाई सहज बनाएको उनले बताए ।

पर्यटकका लागि सिमकोट र हिल्सामा होटलको व्यवस्था केही सहज भए पनि विमानस्थलको विकास तथा विस्तार गर्न आवश्यक रहेको बेला निर्माणाधीन संरचनाले हुम्लाको मात्र नभएर देशकै पर्यटन क्षेत्रको विकासमा योगदान पुग्ने पर्यटन व्यवसायी रिन्जिन लामाको भनाइ छ । हवाई सेवालाई सहज र गुणस्तरीय सेवा प्रदान गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । सबै कुरालाई सहज बनाउने सके सिमकोट हुँदै हिल्सा नाकाबाट पचास हजार पर्यटक भित्र्याउन सकिने पर्यटन व्यवसायीले लामाको विश्वास छ ।

मानसरोवर कैलाशको प्रवेशद्वारका रूपमा रहेको सिमकोट विमानस्थलका लागि आवश्यक भौतिक संरचनाको विकास तीव्र भएपछि पर्यटन क्षेत्रको प्रवद्र्धनमा ठूलो सहयोग पुग्ने पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले बताए ।

अझ विमानस्थल विस्तारको काम पनि अगाडि बढेको हँुदा त्यसबाट हाल मानसरोवर कैलाशको सिजनमा पर्यटकहरूले भोग्ने समस्या सहज हुने उनले बताए । अहिलेको विमानस्थलको संरचनाले मानसरोवर कैलाशको सिजनमा हवाइजहाजलाई अवतरण गर्न समस्या भएर एयर ट्राफिकको समस्या भोग्नुपर्ने बाध्यताको छुट्कारा मिल्ने उनले बताए ।

देशको केन्द्रीय सडक सञ्जालसँग नजोडिएको देशको एक मात्र जिल्लामा हवाई यातायातलाई सहज बनाउन निर्माण भइरहेका योजनाको ठूलो महत्व रहने उनी बताउँछन् । यसअघि साढे बाह्र हजार पर्यटक मानसरोवर कैलाशका लागि सिमकोट विमानस्थल हुँदै जाँदा विमानस्थलले धेरै खाले समस्या भोगेको अनुभवका आधारमा यी योजनाको एकसाथ निर्माण कार्य सुरु भएको उनले बताए । पश्चिम क्षेत्रकै पर्यटन क्षेत्रको विकासका लागि सिमकोट विमानस्थलले महìव राख्ने उनको भनाइ छ ।

सिमकोट विमानस्थल आयोजनाका फिल्ड इन्चार्ज इन्जिनियर अजयकुमार गप्ुताका अनुसार हाल काम निर्माणको अन्तिम चरणमा रहेका काममा विमानस्थलको एप्रोन कालोपत्रे, विमानस्थल घेरबार र नयाँ एप्रोन रहेका छन् । ती योजनामा कालोपत्रे काम ७० प्रतिशत, घेरबार ९० प्रतिशत र नयाँ एप्रोनको निर्माण काम ५० प्रतिशत सम्पन्न भएको र आगामी असार मसान्तसम्म सम्पन्न गरेर सञ्चालनमा आउने उनले बताए । गोरखापत्र दैनिकमा राजन रावतले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्