२३ असार २०८३, मंगलबार

सफल पोखरा म्याराथन उपाधि सेनाका रोकायालाई

सफल पोखरा म्याराथन उपाधि सेनाका रोकायालाई

भूतपूर्व खेलाडी मञ्च नेपालले आयोजना गरेको १५ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन उपाधि नेपाली सेनाका राजन रोकायाले जितेका छन् । प्रतियागितामा विगतमा झैं सेनाकै वर्चश्व रहेको छ । 

पोखरामा शनिबार भएको प्रतियोगितामा निर्धारित ४२.१९५ किमी दूरी रोकायाले २ घण्टा २८ मिनेट ५६ सेकेण्डमा पूरा गरी उपाधिसहित २ लाख तथा ट्रफी पुरस्कार जित्न सफल भए । 

दोस्रो भएका सेनाकै ज्ञानप्रसाद भट्टराईले २ घण्टा ३३ मिनेट ४८ सेकेण्डमा दौड पूरा गरी १ लाख र तेस्रो भएका देवीराज बस्नेतले २ घण्टा ४२ मिनेट ३३ सेकेण्डमा सो दूरी पूरा गरी ७५ हजार प्राप्त गरे । 

यसैगरी, पाँचथरका प्रदीप तामाङले २ घण्टा ५४ मिनेट ८ सेकेण्डमा दूरी पार गरी सान्त्वनासहित २५ हजार पुरस्कार प्राप्त गरेका छन् । 

महिला धावकमात्र सहभागी हाफ म्याराथन (२१ किमी) मा नेपाल प्रहरीकी राजपुरा पछाईँले उपाधि जित्न सफल भइन् । निर्धारित दूरी १ घण्टा २७ मिनेट १ सेकेण्डमा पूरा गरी उनले १ लाख र ट्रफी पुुरस्कार प्राप्त गरिन् । 

जुम्लाकी राममाया बुढा (१ घण्टा ३० मिनेट ५ सेकेण्ड) दोस्रो र सशस्त्र प्रहरी बलकी वृन्दा श्रेष्ठ (१ घण्टा ३१ मिनेट २ सेकेण्ड) तेस्रो हुँदै क्रमशः ७५ हजार र ५० हजार पुरस्कार प्राप्त गरे । नेपाल प्रहरीकी रेखा विष्टले १ घण्टा ३६ मिनेट २ सेकेण्डमा निर्धारित दूरी पूरा गर्दै सान्त्वनास्वरुप १५ हजार पुरस्कार जितिन् ।

म्याराथनमा २ सय ९ जना र हाफ म्याराथनमा २९ जना धावकले सहभागिता जनाएको आयोजक मञ्च अध्यक्ष तेजबहादुर गुरुङले जानकारी दिए । पोखरा रङ्गशालाबाट सुरु दौड पोखराका विभिन्न भाग पुगेर पुनः रंगशालामै आएको थियो । 

विजयीलाई मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, राखेप सदस्यसचिव रमेशकुमार सिलवाल, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, मञ्च अध्यक्ष तेजबहादुर गुरुङलगायतले पुरस्कार वितरण गरे ।

मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेश र पोखरालाई खेल पर्यटनको राजधानी बनाउनका लागि विभिन्न संघसंस्थाले गर्ने प्रतियोगिताले मद्दत पुगेको बताउँदै प्रदेश सरकार खेलकुद विकासमा प्रतिबद्ध रहेको बताए । 

यस वर्ष कोरोना कारणले विदेशी धावकले सहभागिता जनाएनन् । हाफ म्याराथन पहिलो पटक समावेश गरिएको हो । अन्य देशका सहरमा झैं पोखरालाई पनि सिटी म्याराथनको रुपमा अगाडि बढाउने उद्देश्यले प्रतियोगितालाई निरन्तरता दिइएको आयोजकले जनायो ।

प्रतियोगिताका अन्य इभेन्ट क्रमशः हुँदै जाने छन् । ह्वीलचियर दौड महिला र पुरुष तथा दृष्टिविहीन दौड २२ फागुनमा, १० किमी महिलापुरुष दौड १४ चैतमा र ५ किमी छात्रछात्रा दौड ४ वैशाखमा सम्पन्न हुनेछ । विजयीलाई नगदसहित पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्