
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले शनिवार बुटवलमा उपस्थिती चुनावको स्वागतमा व्यक्त अभिमत भएको बताएका छन् । ताजा जनादेशका लागि जनतामा जाने कुरालाई प्रतिगमन भन्नेप्रति विमति जनाए ।
रुपन्देहीको बुटवलमा नेकपाले शनिवार आयोजना गरेको सभालाई सम्वोधन गर्दै ओलीले प्रतिनिधि सभा चल्नै नसक्ने अवस्था आएपछि प्रतिनिधि सभा विघटन भएको बताएका हुन् ।
‘यो उपस्थिती यो देश बनाउनको लागि हो, अस्थिरता चाहनेलाई स्थिरताको पक्षमा तपाईहरुले दिएको जवाफ हो, चुनावको स्वागत गर्न व्यक्त गरेको अभिमतलाई सलाम भन्न चाहन्छु’ बुटवलको सभामा ओलीले भने ।
सांसद किनबेच र साँठगाँठ गरेर अन्य दलसँग मिलेर सरकार गठन गर्न पल्केकाहरूले चुनावको विरोध गरेको आरोप लगाए । ‘संसद विघटन भनेको प्रतिगमन हो रे, ताजा जनादेशका लागि जानु प्रतिगमन हो रे, ताजा जनादेश हुनै हुदैन भने तपाईहरुले कस्तो व्यबस्था खोजेको ?’ ओलीले प्रश्न गरे ।
प्रतिनिधिसभा चल्नै नसक्ने अवस्था आएपछि देश खास परिस्थितिबाट अगाडि बढेको ओलीले बताए ।