३० जेठ २०८३, शनिबार

महिलाको चरित्रमाथि प्रश्न उठाएर सिद्धबाबालाई सफाइ

फागुन २, २०७७
महिलाको चरित्रमाथि प्रश्न उठाएर सिद्धबाबालाई सफाइ

जिल्ला अदालत सुनसरीले बलात्कार घटनामा पीडितको चरित्रमाथि प्रश्न उठाएर आरोपित सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई सफाइ दिएको पाइएको छ । न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले बलात्कार घटनाकी पीडित परिसर–२६ (सांकेतिक नाम) को स्वभाव र चरित्रमाथि प्रश्न उठाएर गिरीलाई सफाइ दिएको हो  ।

पीडितको पक्षमा वकालत गर्ने सरकारी वकिलहरूलाई बहसको मौकासमेत नदिई कोइरालाले एकतर्फी सुनुवाइका आधारमा आरोपितलाई सफाइ दिएका थिए । फैसला गर्नासाथ जिल्ला अदालत सुनसरीबाट सरुवा भएका कोइरालाले त्यसको पूर्णपाठ तयार गर्नै दुई महिनाभन्दा बढी समय लगाइदिए । यसअघि काठमाडौं जिल्ला अदालतमा हुँदासमेत विवादमा परेका न्यायाधीश कोइरालामाथि न्यायपरिषद्मा समेत उजुरी छ ।

चतराधाममा बस्ने सिद्धबाबाले आफ्नो नियमित सम्पर्कमा रहेकी एक भक्तलाई गत कात्तिक ३ गते राति साढे ११ बजे फोन र म्यासेन्जर कल गरेका थिए । ती महिलाले ‘रेस्पोन्स’ नगरेपछि रोमन अंग्रेजीमा ‘हेलो, मैले मौका दिएको बेलामा चुप किन ?’ भनी कुटीमा बोलाए । साधनाबाट प्राप्त हुने दीक्षाका लागि गुरुले अवसर दिएको ठानी उनी आश्रममा गएकी थिइन् । पीडितको किटानी जाहेरीअनुसार ‘आफूले भनेअनुसार नगरे अनिष्ट हुने’ धम्की दिई चुप लागेर बस्न बाध्य बनाएर र बलात्कार गरे । घटनापछि सिद्धबाबाले ‘यो कुरा कसैलाई नभन्नू, भनेमा अनिष्ट हुन्छ’ भनेर फेरि धम्की दिएका थिए । घटनापछि डरले चुप लागेर बसेकी ती महिला काठमाडौं फर्किन् । केही सातापछि श्रीमान्‌ले सिद्धबाबा र उनीबीच भएको म्यासेजको विवरण हेर्दा ‘शारीरिक सम्पर्क’ को कुरा उल्लेख भएको थाहा पाए । अनि उनले सबै यथार्थ श्रीमान्‌लाई बताइन् ।श्रीमान्‌को अग्रसरतामा ती महिलाले प्रहरीमा किटानी जाहेरी दिइन् । सिद्धबाबाको दाबीअनुसार बालब्रह्मचारी भएकाले उनले आगो र स्त्रीलाई छुने कामसमेत गरेका थिएनन् । पीडित भनिएकी परिसर–२६ उनको आश्रममा समेत नआएको सिद्धबाबा र उनका समर्थकको दाबी थियो तर पीडितको जाहेरीका आधारमा जिल्ला अदालत सुनसरीमा मुद्दा चलेको थियो । गत वर्ष दर्ता भएको मुद्दा मंसिर २२ मा फैसला भयो र आरोपित सिद्धबाबाले सफाइ पाए ।

जिल्ला अदालत सुनसरीका न्यायाधीश कोइरालाले सिद्धबाबालाई सफाइ दिनुका पछाडि केही आधार प्रस्तुत गरेका छन् । उनले पीडित भनिएकी परिसर–२६ को क्रियाकलापमा प्रश्न उठाई त्यसका आधारमा सिद्धबाबा निर्दोष रहेको फैसला गरेका हुन् । एकतर्फी सुनुवाइका आधारमा फैसला भएको हुनाले त्यसमा पीडितका तर्फबाट भएको कानुनी प्रतिरक्षा र तथ्यको विवेचना हुन सकेको छैन । कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्