
चीनसँग तनाव बढिरहेको बेलामा अमेरिकाले सुरक्षा व्यवस्था बलियो बनाउन थालेको छ ।
यस क्रममा उसले एक हाइपरसोनिक क्षेप्यास्त्र विकसित गरेको छ । यसले एक घन्टामा ६ हजार किलोमिटर पर गएर मार हान्न सक्छ ।
लेफ्टिनेन्ट जनरल एल नील थर्गुडले हाइपरसोनिक हतियारले भविष्यमा युद्धप्रणालीमा परिवर्तन ल्याइदिने बताएका छन् ।
अमेरिकी सेनाको विशेष इकाइलाई यस क्षेप्यास्त्र सञ्चालनको तालिम दिइएको मिडियामा खबर आएका छन् । यसलाई छिट्टै सेनामा संलग्न गरिने पनि बताइएको छ । तर रक्षा मन्त्रालयले यसको पुष्टि गरिसकेको छैन ।
तर थर्गुडले सेप्टेम्बर महिनासम्ममा यसलाई सेनामा राखिने बताएका छन् । परीक्षणका क्रममा यसले सबै मानक पूरा गरेको उनले दाबी गरेका छन् ।
अमेरिकाले यो क्षेप्यास्त्रको प्रोटोटाइप सन् २०१७ को अक्टोबर महिनामा परीक्षण गरेको थियो । तर सन् २०२० मा हाइपरसोनिक मिसाइलको पूर्ण परीक्षण उसले गरेको हो । स्थल सेना र जलसेनाले संयुक्त रूपमा यसको परीक्षण गरेका हुन् ।
हाइपरसोनिक क्षेप्यास्त्रको गतिले राडार र एयर डिफेन्स सिस्टमलाई झुक्याइदिन सक्छ ।
यो आवाजको गतिभन्दा पाँच गुणा बढी द्रुत गतिमा उड्न सक्छ ।
यसको न्यूनतम गति ६ हजार १ सय ७४ किलोमिटर प्रतिघन्टा छ । यसमा क्रुज र ब्यालिस्टिक दुवैथरी क्षेप्यास्त्रहरू जडान गर्न मिल्छ ।
चीनले डीएफ–१७ हाइपरसोनिक क्षेप्यास्त्र बनाइसकेकाले अमेरिकाले त्यसभन्दा एड्भान्स्ड क्षेप्यास्त्र निर्माण गरेको हो ।