
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक पूर्वाधार विकास कार्यालय रोल्पाका निमित्त कार्यालय प्रमुख नविन श्रेष्ठसहित ४ जनालाई स्रोत नखुलेको १ लाख ९० हजार रुपैयाँ नगदसहित पक्राउ गरेको छ ।
अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले प्रेस विज्ञप्ति जारी गर्दै रुपन्देहीको सैनामैना नगरपालिका–१० स्थित पूर्वपश्चिम लोकमार्गको कोठी वनबाट नियन्त्रणमा लिएको जानकारी दिए ।
‘सडक पूर्वाधार विकास कार्यालय रोल्पाका निमित्त कार्यालय प्रमुख नविन श्रेष्ठ स्रोत नखुलेको रकमसहित रोल्पाबाट बुटवलतर्फ जाँदै गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीद्वारा निमित्त कार्यालय प्रमुख नविन श्रेष्ठ, इन्जिनियर निर्मल पन्त, सवइन्जिनीयर प्रेमकुमार बराल र ह.स.चा. मानसिंह पुन मगर समेतलाई स्रोत नखुलेको नगद १,९०,०००।– (एक लाख नब्बे हजार रुपैयाँ) सहित गाडी नं. बाग्मती प्रदेश ०१–००२ झ ५३१८ मा बुटवलतर्फ आउँदै गरेको अवस्थामा मिति २०७७/१०/२९ गते जिल्ला रुपन्देही सैनामैना नगरपालिका वडा नम्बर १० स्थित पूर्वपश्चिम लोकमार्गको कोठी वनबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ,’ प्रेस विज्ञप्तिमा उल्लेख छ ।