
बैतडीको दोगडाकेदार गाउँपालिका-७ की १७ वर्षीय किशोरी भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न भएको प्रमाणहित ३ जनालाई क्लोज निगरानीमा राखेको प्रहरीले जनाएको छ ।
सुदुरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआइजी) उत्तम सुवेदीका अनुसार प्रहरीले अहिले सुक्ष्मरुपमा अनुसन्धान गरिरहेको छ ।
‘हामी अपराधीको नजिकै छौं, सुक्ष्म अनुसन्धानका पाटाहरु केलाईरहेका छौं,’ प्रमुख सुवेदीले लोकान्तरसँग भने, ‘अपराधी लगभग यकिन भएको छ र उनीहरुको सुक्ष्मरुपमा अनुसन्धान भइरहेको छ ।’
अपराधीको पहिचान लगभग स्पष्ट भइसकेको र सुक्ष्मरुपमा अनुसन्धान गर्नुपर्ने भएकाले केही समय लाग्ने र फरेन्सिक ल्याबको नतिजा नकुर्ने डीआइजी सुवेदीले बताए ।
प्रहरीले भागरथीले प्रयोग गरेको मोबाइलको फरेन्सीक ल्याबको रिर्पोट, उनलाई आएको फोन कल डिटेल र उनले चलाउने सामाजिक सञ्जालको अनुसन्धान र घटनास्थलमा भेटिएका प्रमाणका आधारमा अपराधी नजिक पुगेको दाबी गरेको छ ।
‘केहि फरेन्सिक परीक्षणहरु आउने क्रममा छन् र केही आइसकेका छन् । तिनीहरुको अनुसन्धानमा प्रहरी लागिपरेको छ,’ सुदूरपश्चिम प्रदेश प्रहरी प्रवक्ता एसएसपी मुकेश सिँहले लोकान्तरसँग भने ।
अहिलेसम्म प्रहरीले दर्जनौं मानिसहरुलाई सामान्य सोधपुछ गरेको जनाएको छ भने १२ जना व्यक्तिलाई विशेष रुपमा सोधपुछ गरिरहेको छ ।
अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतका अनुसार ३ जनालाई प्रहरीले उनीहरुको विगत, आनीबानी र घटनाका दिन र त्यो भन्दा अघिल्लो–पछिल्लो दिनको गतिविधिको अनुसन्धान गरिरहेको छ ।
‘३ जना मध्ये १ जना, २ जना वा ३ तीनै जना अपराधी हुन भन्ने प्रमाणहरु संकलन र अनुसन्धान गरिरहेका छौं,’ ती अधिकृतले लोकान्तरसँग भने,‘केही प्रमाण पुष्टि हुन बाँकी छ त्यो जुटेपछि सार्वजनिक हुनेछन् ।’
शव बुझ्न अस्वीकार
माघ २१ गते विद्यालयबाट घर फर्कने क्रममा स्थानीय लवलेक जङ्गलमा भागरथीको हत्या भएको थियो । २१ गते बिहान ९ बजे घरबाट विद्यालय हिँडेकी भागरथी त्यसपछि कहिल्यै घर फर्किनन् । माघ २१ गते साँझसम्म पनि घर नफर्केपछि खोजी सुरु गरेका परिवारले माघ २२ गते साँझ ५ बजे मात्रै भागरथीको शव लवलेक जङ्गलको बाटोभन्दा करिब ७० मिटर तल बनमाराको झाडीभित्र फेला पारेका थिए ।
भागरथी हराएको भोलिपल्ट अर्थात् माघ २२ गते उनकै सहपाठीहरूले घर फर्कने क्रममा भागरथीको शव देखेपछि अभिभावकलाई खबर गरेका थिए । त्यसपछि प्रहरीले माघ २२ गते रातभर शव कुरेर अपराध अनुसन्धान टोली आएपछि मात्रै उठाइएको थियो ।
घटनास्थलमा सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालका डीआइजी उत्तम सुवेदी, एसएसपी जनक पाण्डे, केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)का डीआइजीको टोली, जिल्ला प्रहरी कार्यालय बैतडीको टोली र सरकारी अस्पतालका चिकित्सकको टोली पुगेपछि मात्रै घटनास्थलबाट सम्पूर्ण सबुत तथा प्रमाणहरू सङ्कलन गरी पोस्टमार्टमका लागि शव जिल्ला अस्पताल बैतडी पठाइएको थियो ।
पोस्टमार्टम रिपोर्टमा भागरथीको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ । पीडित परिवारले अपराधी पत्ता नलागेसम्म शव नबुझ्ने बताएका छन् ।
जिल्लाभर भागरथीको हत्यारा पत्ता लगाउन आन्दोलन भइरहेका छन् । यता घटनास्थल लवलेक जङ्गलको नजिकै रहेको खोचलेक बजारमा १ सय भन्दा बढी प्रहरी खटिएका छन् ।
हत्यारा पत्ता नलाग्दासम्म शव नबुझ्ने आफन्तले बताएका छन् । उनको शव जिल्ला अस्पतालमा राखिएको छ ।
ठाउँ–ठाउँमा प्रदर्शन
न्याय नपाएकी निर्मलाको जस्तो हविगत नहोस् भनेर भागरथीका परिवारले ११ दिनसम्म पनि शव बुझ्न मानेका छैनन् । पीडित परिवारलाई न्यायको माग गर्दै ठाउँ–ठाउँमा प्रदर्शन भइरहेका छन् । प्रदेश राजधानी धनगढीमा दैनिकजसो प्रदर्शन भइरहेको छ ।
शनिवार धनगढीमा पत्रकार सम्मेलन आयोजना गर्दै महिला नेतृ तथा अधिकारकर्मीले चरणबद्ध सङ्घर्षका कार्यक्रम घोषणा गरेका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाली काँग्रेस केन्द्रीय सदस्य समेत रहेकी डा. डिला सङ्ग्रौला पन्तले घटनाको अनुसन्धान तीव्र बनाउन र दोषी अविलम्ब पक्राउ गर्न माग गरिन् ।
‘भट्टको बलात्कार र हत्यामा संलग्न दोषी घटनाको दुई साता हुनै लाग्दा पनि अपराधी पक्राउ परेको छैन’, उनले भनिन्, ‘शव अस्पतालमा छ । परिवारजनले पीडामाथि पीडा भोगिरहेका छन्, खै कहाँ छ सरकार ?'
कार्यक्रमअन्तर्गत १ गते धनगढी, ३ गते दार्चुला, ४ गते बैतडी, ६ गते बझाङ, ७ गते डडेल्धुरा, ८ गते डोटी, ९ गते अछाम, १० गते बाजुरा र १२ गते कञ्चनपुरमा विरोध गर्ने कार्यक्रम रहेको उनले बताइन् ।
भागरथीको न्यायका लागि चरणबद्ध आन्दोलनको घोषणा गर्दै उनले भनिन्, ‘धनगढीबाट आन्दोलन शुरू गरेर ९ वटै जिल्लामा प्रदर्शन गर्छौं । सरकारले पीडित परिवारलाई न्याय दिलाउन नसके देशभर विरोध प्रदर्शन गर्छौ ।’
घटना भएको भोलिपल्ट नै बैतडीका जिल्ला प्रहरी प्रमुख डीएसपी नारायणप्रसाद अधिकारीसहितको टोली घटनास्थलमा खटिएको थियो । उक्त टोलीले घटनास्थलको मुचुल्का तयार पारेको थियो ।
किशोरीको टाउकामा चोट लागेको, भित्री वस्त्र चुँडिएको, शरीरमा टोकेका घाउ भएको, यौनांगबाट रगत बगेको, टाउको र हातमा घाउसमेत रहेको अवस्थामा शव फेला परेको थियो ।
२१ गते विद्यालयबाट घर फर्किंदा बेपत्ता भएकी किशोरीको २२ गते स्थानीय लवदेव सामुदायीक वनमा शव फेला परेको थियो ।
प्रहरीले किशोरीले अध्ययन गर्ने विद्यालयका साथी, शिक्षक, परिवारका सदस्य, गाउँका आफन्त, नजिकका चिनेजानेकाहरु गरी दर्जनौँ व्यक्तिसँग सोधपुछ गरिसकेको छ ।
धनगढीबाट लोकान्तरकर्मी जीवन बिष्टको सहयोगमा