
नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा)द्वारा स्थापना गरिएको खोजी पत्रकारिता पुरस्कार (२०२०) लोकान्तर डट्कमका समाचार सम्पादक सुशील पन्त र नागरिक दैनिकका संवाददाता टपेन्द्र कार्कीलाई प्रदान गरिने भएको छ ।
एक लाख रुपैयाँ राशिको सो पुरस्कार पत्रकार पन्त र कार्कीलाई संयुक्त रूपमा प्रदान गर्न लागिएको इञ्जाले जनाएको छ ।
पत्रकार पन्तले कोरोना विपत्तिको समयमा समेत सांसद र उनीहरूका पीएले दशैं भत्ता लिएको समाचार लेखेका थिए ।
लोकान्तरमा समाचार प्रकाशित भएपछि राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीदेखि सांसदहरूसम्मले दशैं भत्ता फिर्ता गरेका थिए ।
पत्रकार कार्कीले नेपाल प्रहरीमा लत्ताकपडा खरिदसम्बन्धमा भएको अनियमिततासम्बन्धी समाचार प्रकाशित गरेका थिए ।
इञ्जाद्वारा गठित निर्णायक समितिले प्राप्त आवेदनहरूमध्येबाट पत्रकार पन्त र कार्कीका समाचारलाई उत्कृष्ट ठहर गरेको थियो ।
गुल्मीमा जन्मिएका पत्रकार पन्तले २०६० सालदेखि रेडियो पत्रकारिताबाट करियर शुरू गरेका हुन् ।
लोकान्तर डट्कमका समाचार सम्पादक पन्तले संसदीय मामिला र सुशासनको विषयमा कलम चलाउँदै आएका छन् । उनी संसदीय मामिला पत्रकार समाजका पूर्व महासचिव समेत हुन् ।
मार्च १ मा काठमाडौंमा आयोजना हुने विशेष समारोहमा पुरस्कार प्रदान गरिने इञ्जा एसियाका अध्यक्ष टंक पन्तले जानकारी दिए ।
इञ्जाले यसअघि उत्कृष्ट साहित्यिक कृति पुरस्कार (२०२०) साहित्यकार तथा पत्रकार राजेन्द्र पराजुलीद्वारा लिखित संस्मरणात्मक कृति कोटेश्वरको केटोलाई प्रदान गर्ने निर्णय गरिसकेको छ भने इञ्जा सामुदायिक पत्रकारिता पुरस्कार भोलि घोषणा गरिने इञ्जाले जानकारी गराएको छ ।
पढ्नुहोस्, दशैंभत्तासम्बन्धी समाचार :
EXCLUSIVE : जनता भोकभोकै सडकमा, कोरोनाकालमा सांसद र उनका पीएले बुझे दशैंभत्ता !