कोरोनाभाइरसका सबै प्रकार (स्ट्रेन) लाई परास्त गर्ने रामवाण खोप एक वर्षमा तयार हुने बेलायती वैज्ञानिकहरूले दाबी गरेका छन् ।
त्यस खोपले कोरोनाको सबै भेरिएन्टविरुद्ध लड्ने क्षमता राख्छ ।
बेलायती वैज्ञानिकहरू अहिले संसारमा भएका सबै कोरोना खोपको अध्ययन गरिरहेका छन् ।
नटिंगम विश्वविद्यालयका वैज्ञानिकहरूले कोरोनाभाइरसको बाहिरी चुच्चे पत्र भन्दा पनि त्यसको केन्द्रमा प्रहार गर्ने खोप बनाउने प्रयास गरिरहेका हुन् । यस खोपले कोरोनाको केन्द्र अर्थातु न्युक्लियोक्याप्सिड प्रोटीनलाई निष्क्रिय वा कमजोर बनाउनेछ ।
वैज्ञानिकहरू बेलायतको औषधि कम्पनी स्क्यानसेलसँग मिलेर खोप बनाउन खोजिरहेका छन् । यो सन् २०२२ मा तयार भइसक्ने अपेक्षा छ ।
यस रामवाण खोप मानवमाथिको परीक्षण सन् २०२१ मा नै गरिने बताइएको छ । अहिले यसको परीक्षण मुसामाथि गरिँदैछ । त्यसमा सकारात्मक परिणाम आएमा मात्र मानवमाथि परीक्षण गरिनेछ ।
कोरोना महामारीविरुद्ध मानिसले संघर्ष गरिरहँदा भाइरस पनि लगातार रूप परिवर्तन गरिरहेको छ । त्यसैले सबै किसिमका स्ट्रेनहरूलाई एउटै आक्रमणबाट निष्क्रिय बनाउन सक्ने खोप बनाउनु अहिलेको आवश्यकता बनेको छ ।
विशेषगरी अहिले तीन नयाँ भेरिएन्टहरूले संसारलाई आक्रान्त पारिरहेका छन् ।