
चितवनका सार्वजनिक क्षेत्रमा जडान गरिएका अधिकांश सीसीटीभी क्यामरा बिग्रिएका छन् ।
सरकारी निकायको आवश्यक समन्वय र चासो नहुँदा सीसीटीभी मर्मत हुन नसकेका हुन् । त्यसले गर्दा आपराधिक घटना भइहाले अपराधीलाई चाँडो पक्राउ गर्न र जनतालाई शान्ति सुरक्षाको अनुभूति दिलाउनमा प्रहरीलाई समस्या हुने गरेको छ ।
प्रहरीले सीसीटीभीको अभावले काममा कठिनाइ भएको बताउँदै आएको छ । जिल्लामा हालसम्म ४० वटा सीसीटीभी सडकमा जडान भएका छन् ।
तीमध्ये १४ वटा मात्र सञ्चालनमा छन् । त्यही पनि सामान्य खालका मात्र छन् । जिल्लामा थप ४२ स्थानमा सीसीटीभीको अतिआवश्यकता पहिचान गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए ।
भरतपुर महानगरपालिकाका २९ स्थान, रत्ननगर नगरपालिकाका ७ स्थान र खैरहनीका ६ स्थानमा सीसीटीभीको थप अतिआवश्यकता पहिचान गरिएको हो । थापाका अनुसार सीसीटीभीको अभाव हुँदा शान्तिसुरक्षा कायम गर्न, अपराध अनुसन्धान गर्न जटिल हुने गरेको छ ।
ट्राफिक व्यवस्थापन तथा दुर्घटना हुँदाको अवस्था बुझ्न पनि ट्राफिक प्रहरीलाई अप्ठ्यारो भएको छ । विभिन्न अनुसन्धान गर्नका लागि कुनै पसलले वा अफिसले राखेका सीसीटीभीमा गएर प्रहरीले हेर्नुपर्ने अवस्था रहेको थापाले बताए ।