
देश दर्शन बस सेवाले सोमवारदेखि दिक्तेल–काठमाडौं सिधा पर्यटक बस सेवा शुरू भएको छ ।
‘पहिला देश अनि विदेश’ भन्ने नाराका साथ आन्तरिक पर्यटकको प्रवद्र्धन गर्ने लक्ष्यअनुसार सो बस सेवाले दैनिक दिक्तेलबाट एक र काठमाडौंबाट एउटा पर्यटक बस शुरू गरेको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजालले पर्यटक बस सेवा उद्घाटन गरे ।
नेपालका मुख्य शहरमा ३० वर्षदेखि सुविधा सम्पन्न पर्यटक बस सञ्चालन गर्दै आएकामा सो संस्थाले दशौं गन्तव्यअन्तर्गत दिक्तेल–हलेसी–काठमाडौं पर्यटक बस सञ्चालन शुरू गरिएको बस सेवाका अध्यक्ष एवं नेपाल एसोशिएसन अफ टुर एण्ड ट्राभल (नाटा) का पूर्व अध्यक्ष सिएन पाण्डेले बताए ।
बसमा एयर कन्डिसन, आरामदायी सिट, यात्रु बिमा, पर्यटकको सेवा दिने तालिम प्राप्त जनशक्ति रहेका छन् । प्रतिव्यक्ति १ हजार ५०० रुपैयाँ भाडा निर्धारण गरिएको बसको टिकट अनलाइनबाट समेत लिन सकिने व्यवस्था मिलाइएको छ ।
यसअघि सुपर खोटाङ–भोजपुर यातायात प्रालिले दिक्तेल–काठमाडौं माइक्रो भ्यान सेवा शुरू गरेको थियो ।