
भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ्गसँग नेपालका लागि रसियाका राजदुत एलेक्सी नोभिकोभले शिष्टाचार भेटवार्ता गरेका छन् ।
सिंहदरबार स्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज भएको भेटवार्तामा नेपालको रेलवे विस्तारमा रसियाले लगानी गर्न इच्छुक रहेको बताएका छन् । रसियन रेलवेको तर्फबाट मन्त्रालयमा आशय पत्र समेत बुझाइएको छ ।
भेटमा मन्त्री नेम्बाङ्गले सोभियत युनियन विघटनपछि पछिल्लो समयमा दुई देश बीचमा समन्वयन भइ कुनै काम नभए पनि सम्बन्ध सुमधुर रहेको बताए ।
काठमाण्डौको ट्राफिक व्यवस्थापन र यातायात सहज बनाउन मेट्रो रेलको आवश्यकता रहेको तर प्रविधि र दक्ष जनशक्तिका साथै लगानीको समेत अभाव रहेको उल्लेख गर्दै हाल मेट्रो रेलको रेखाङकन, पूर्व सम्भाव्यता अध्ययन र केही खण्डको विस्तृत परियोजना रिर्पोट (डिपीआर) समेत तयारी भइसकेको र सो दस्तावेज रसियन पक्षलाई उपलब्ध गराउन तयार रहेको बताए ।
उनले रसियन पक्षबाट विस्तृत प्राविधिक र आर्थिक प्रतिवेदन प्राप्त भएपछि थप छलफल गर्न तयार रहेको उल्लेख गरे ।