
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले प्रधानमन्त्री केपी ओलीले नारायणहिटी दरबारको गेट र राजा महेन्द्रको सालिक अगाडि कार्यक्रम गरेर प्रधानमन्त्री केपी ओलीले के सन्देश दिन खोजेको ? भन्दै प्रश्न गरेका छन्। "के महाराजा बन्न लालायित भएको ? राजाहरूले झैं म जे भन्छु त्यही कानुन हो भन्न खोजेको?" आक्रोशित मुद्रामा डा कोइरालाले भने।
राष्ट्रपतिले आफ्नो मर्यादा र गरिमा बिर्सेर नेकपा भित्र एउटा गुटको भूमिका निर्वाह गरेकाले मुलुक बर्बादीतर्फ लागेको बताए। उनले राष्ट्रपति र प्रधानमन्त्रीले संविधानमाथि अतिक्रमण गरेकाले कांग्रेस बाध्य भएर सडकमा आउन परेको बताए।
सरकारको असंवैधानिक कदमको विरुद्धमा नेपाली कांग्रेस सुनसरीले धरानमा आयोजना गरेको बिरोध सभालाई सम्बोधन गर्दै नेता कोइरालाले आफुहरुले संवैधानिक इजलासमा बस्ने न्यायाधीश हरुलाई दबाब अथवा आग्रह नगरेको बताए।
"संवैधानिक इजलासमा बसेर संविधानको व्याख्या गर्ने न्यायमुर्तिहरुले आफ्नो विवेक नगुमाइ निर्णय गर्नुहुन्छ भन्ने कुरामा हामी विश्वस्त छौं" उनलेे भने।