३० जेठ २०८३, शनिबार

फागुन २४ गतेदेखि समुदायस्तरमै कोरोना विरुद्धको खोप, २० लाख मात्रा आउँदै

फागुन ४, २०७७
फागुन २४ गतेदेखि समुदायस्तरमै कोरोना विरुद्धको खोप, २० लाख मात्रा आउँदै
फाइल फोटो

सरकारले कोरोना भाइरस विरुद्धको खोप समुदायस्तरमै अभियानका रूपमा सञ्चालन गर्ने तयारी थालेको छ । त्यसका लागि खोप खरिद प्रक्रियालाई अघि बढाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले फागुन २४ गतेदेखि समुदायस्तरमा खोप अभियान सञ्चालनका लागि तयारी भइरहेको बताए ।

उनले भने, ‘अब छिट्टै नै आमजनमानसमा खोप अभियान लगेर जाने तयारीमा छौं, २० लाख मात्रा खोप आउने प्रक्रियामा छ ।’

सरकारले दोस्रो प्राथमिकतामा ५५ वर्षदेखि ७४ वर्षसम्मका नागरिक, ४० देखि ५४ वर्ष उमेर समूहमध्ये तोकिएका दीर्घरोग भएका व्यक्तिलाई राखेको छ । 

तेस्रो प्राथमिकतामा ४० देखि ५४ वर्ष उमेर समूह, १५ देखि ३९ वर्षसम्मको उमेर भएका व्यक्ति पर्छन् ।

आइतवारदेखि सरकारले पहिलो चरणको दोस्रो प्राथमिकतामा परेकालाई खोप लगाइरहेको छ । अभियानमा करीब ३ लाख मानिसलाई खोप दिइने स्वास्थ्य मन्त्रालयको योजना छ ।

खोप विज्ञका अनुसार कुनै व्यक्तिले भ्याक्सिन लगाइसकेपछि कोरोना संक्रमण भएपछि सो व्यक्तिलाई कोरोना हुँदैन तर रोग नलागे पनि सो व्यक्तिमा कीटाणुहरू हुन्छन् । त्यसकारण सो व्यक्तिले अरूलाई सार्न सक्ने बताइएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. अनुप बाँस्तोलाले पहिलो चरणमा ५५ वर्षमाथि उमेर समूहका व्यक्तिले खोप उपलब्ध गराउनुपर्ने बताए । अहिले कोरोना संक्रमण भएर गम्भीर अवस्थामा पुगेका र मृत्युदर पनि ५५ वर्षभन्दा माथिका मानिसको बढी रहेकाले यो उमेर समूहका नागरिकले खोपमा पहिलो प्राथमिकता पाउनुपर्ने बताए ।

हाल विश्वमा हाल ७० वटा खोप ट्रायलमा रहेको र २० वटा खोप तेस्रो चरणमा रहेको छ । सरकारले २ करोड १६ लाख नागरिकलाई खोप लगाउने लक्ष्य लिएको छ ।

सरकारले कोरोना भाइरसविरुद्धको कोभिसिल्ड खोप पहिलो मात्रा दिएको ८ हप्तापछि लगाउने तयारी थालेको छ । कोभिड–१९ खोप प्राविधिक सल्लाहकार समितिले कोभिसिल्ड खोपको दोस्रो मात्रा पहिलो मात्रा दिएको ८ देखि १२ हप्ताको अवधिमा लगाउन सरकारसमक्ष सिफारिस गरेको हो । तर अझै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्णय गरिसकेको छैन ।

कोरोना विरुद्धको पहिलो खोप लगाएको ८ देखि १२ हप्तापछि दोस्रो डोज लगाउँदा थप प्रभावकारी हुने विभिन्न अध्ययनले देखाएको छ । खोप विज्ञ डा. श्यामराज पौडेलले पहिलो खोप लगाएको ८ देखि १२ हप्तासम्म दोस्रो खोप लगाउँदा त्यसको प्रभावकारीकारिता बढी देखिएको विभिन्न अनुसन्धानले देखाएको बताए ।

उनले भने, ‘कोभिसिल्ड खोप लगाएपछि कोरोना संक्रमण भएपछि पनि मृत्यु कम हुन्छ वा मृत्यु नै हुँदैन । सिकिस्त बिरामी भएर अस्पतालमा भर्ना हुने दर अत्यन्तै कम हुन्छ । सिकिस्त रोग पनि कम हुन्छ ।’ यस अघि पहिलो मात्रा दिएको २८ दिनपछि दोस्रो मात्रा दिन सकिने विज्ञले सुझाएका थिए ।

देशभर सोमवार १२२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यससँगै कूल संक्रमितको संख्या २ लाख ७२ हजार ८४० पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या १ हजार ५८१ जना रहेको छ । सोमवार २ हजार ५४१ जनाको पीसीआर परीक्षण गरिएको छ । यससँगै नेपालमा पीसीआर परीक्षण हुनेको संख्या २१ लाख २० हजार ५९१ पुगेको छ ।

गत २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमित मृतकको संख्या २ हजार ५५ पुगेको छ ।

हाल ७९ जना क्वारेन्टाइनमा रहेका छन् । सोमवार १४४ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा निको हुनेको संख्या २ लाख ६९ हजार २०४ पुगेको छ । राजधानी दैनिकमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्