
जनसेवा समाज नेपाल र डिटुएन फाउन्डेसन अमेरिकाको साझेदारीमा खोटाङका ५ स्थानीय तहमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ ।
अमेरिकी सहयोगमा जनसेवा समाज नेपाल जालपाद्वारा सञ्चालित कोरोना सहायता परियोजनाअन्तर्गत दूरदराजमा रहेका सर्वसाधारणलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले बुधवारदेखि स्वास्थ्य शिविर शुरू गरिएको हो ।
जनसेवा सामुदायिक अस्पताल जालपासँगको सहआयोजनामा जिल्लाको उत्तरी क्षेत्रमा पर्ने ऐसेलुखर्क गाउँपालिकाबाट शुरू गरिएको स्वास्थ्य शिविरमा विशेषज्ञ सहितको टोली सहभागी छ ।
वडा नम्बर ३ ऐसेलुखर्क बजारमा आयोजना गरिएको स्वास्थ्य शिविरको पहिलो दिन २२४ जनाको स्वास्थ्य परीक्षणका साथै औषधि वितरण गरिएको जनसेवा सामुदायिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ध्रुव श्रेष्ठले बताए ।
ऐसेलुखर्क गाउँपालिकाको बाकाचोल, माक्पा, राखाबाङङ्देल, ऐसेलुखर्क, महेश्वरी र जलेश्वरीका सर्वसाधारणलाई लक्षित गरेर विशेषज्ञ सहितको स्वास्थ्य शिविर सञ्चालन गरिएको आयोजकले जनाएको छ ।
शिविरमा सामान्य स्वास्थ्य जाँच, आँखा, दाँत, भिडियो एक्स–रे, आमा तथा शिशुको स्वास्थ्य परीक्षण, सर्भाइकल परीक्षण लगायतका सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको जनाइएको छ ।
स्थानीय वासिन्दाको गाउँमै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएपछि सेवाग्राही समेत हर्षित भएका छन् । १५ शय्याको एक मात्र सरकारी अस्पताल रहेको जिल्लामा दूरदराजका स्थानीय वासिन्दाका लागि सामान्य किसिमको बिरामी पर्दा समेत ठूलो आर्थिकभार व्यहोरेर स्वास्थ्योपचारका लागि बाहिरी जिल्ला जानुपर्ने बाध्यता छ ।
फागुन ८ र ९ गते केपिलासगढी गाउँपालिकाको बाक्सिला, फागुन ११ र १२ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको पाथेका, फागुन १४ र १५ गते रावाबेंसी गाउँपालिकाको हरमटार र फागुन १६ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको जालपा स्वास्थ्य शिविरको तयारी गरिएको छ ।