योगगुरु बाबा रामदेवले शुक्रवार कोरोनाको नयाँ औषधि ल्याएका छन् ।
औषधिको शुभारम्भ समारोहमा केन्द्रीय स्वास्थ्यमन्त्री डा हर्षवर्धन र केन्द्रीय मन्त्री नितिन गडकरी उपस्थित थिए । औषधिको नाम कोरोनिल नै राखिएको थियो ।
रामदेवको पतञ्जलि आयुर्वेदले कोरोनिल ट्याब्लेटले कोभिडको उपचार गर्ने बताएको छ ।
आयुष मन्त्रालयले कोरोनिल ट्याब्लेटलाई कोरोनाको औषधिका रूपमा स्वीकार गरेको छ । यसलाई सीओपीपी–डब्ल्यूएचओ जीएमपीले प्रमाणपत्र दिएको छ ।
औषधि सार्वजनिक गर्दै रामदेवले योग आयुर्वेदलाई अनुसन्धानमा आधारित चिकित्सा पद्धतिका रूपमा अपनाइएको बताए ।
रामदेवले भने, ‘मैले रोग नियन्त्रण गर्ने हैन, अन्त्य गर्ने हो भन्दा विगत तीन दशकमा ममाथि अनेकौं प्रश्न उठाइए । अहिले सबै प्रमाणपत्रका साथ हामीसँग २५० भन्दा बढी अनुसन्धान पत्र छन् । अब संसारमा कसैले पनि हामीमाथि प्रश्न उठाउन सक्दैन ।’
यसअघि रामदेवले कोरोनाको औषधि ल्याउँदा उचित प्रक्रिया नअपनाई हतार गरेर ल्याएको भन्दै आलोचना भएको थियो ।