
विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा तथा प्रतिनिधि सभा विघटनविरुद्धको आन्दोलनलाई प्रभावकारी बनाउने विषयमा छलफल गर्न पुष्पकमल दाहाल प्रचण्ड – माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा केन्द्रीय कमिटीको बैठक शुक्रवार बस्दैछ ।
पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा दिउँसो १ बजेपछि बस्ने बैठकमा अध्यक्षद्वय प्रचण्ड र नेपालले पछिल्लो राजनीतिक घटनाक्रमबारे सदस्यहरूलाई ब्रिफिङ गर्नेछन् ।
केन्द्रीय कमिटी बैठकअघि केन्द्रीय सदस्यहरूको नागरिकता र परिचयपत्र स्क्यान गर्ने काम भइरहेको छ ।
आधिकारिकता दाबी गर्दै निवेदन दिइसकेको प्रचण्ड–नेपाल समूहले आफूहरूसँग स्पष्ट बहुमत रहेको देखाउन बहुमत सदस्यसहित निर्वाचन आयोग जाने तयारी गरिरहेको छ ।
शुक्रवार निर्वाचन दिवस परेकाले अन्य दिन जानेगरी कागजात जुटाउने काम भइरहेको स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले जानकारी दिए ।
निर्वाचन आयोगले नेकपा विवादबारे केही दिनमै निर्णय लिने तयारी गरेको छ ।