
बैतडीको दोगडाकेदार गाउँपालिका– ७ की १७ वर्षीय किशोरी भागरथी भट्टको शव १५ दिनपछि परिवारले बुझेको छ ।
जिल्ला अस्पताल बैतडीमा रहेको भागरथीको शव आज उनका दाजु केशव भट्टले बुझेका हुन् ।
शवयात्रा सहित भागरथीको आजै महाकाली नदीको किनारमा अन्तिम संस्कार गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनक धामीले बताए ।
‘उहाँहरूले आज दिउँसो शब बुझेर महाकाली नदीको किनारमा दाहसंस्कार गर्नुभएको छ,’ प्रवक्ता धामीले लोकान्तरसँग भने ।
प्रहरीले बुधवार भागरथी हत्याको आरोपमा दोगडाकेदार – ७ कै १६ वर्षीय किशोर दिनेश भट्टलाई सार्वजनिक गरेको थियो ।
प्रहरीले हत्यारा मात्रै पत्ता लगाएको तर बलात्कारी पत्ता नलगाएको भन्दै परिवारले शव बुझ्न मानेका थिएनन् । तर हिजो (बिहीवार) आरोपी दिनेशले आफ्ना बुवाकै अगाडि जिल्ला सरकारी वकिलको कार्यालय बैतडीमा भएको बहसमा बलात्कार पनि गरेको स्वीकारेपछि शुक्रवार आफन्तले शव बुझेका हुन् ।